भरतपुर महानगरपालिकाकाको सरकारी कार्यालय डुबानमा

चितवन । भरतपुर महानगरपालिकाकाको मुख्य सहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा त्यहाँका सरकारी कार्यालय डुबानमा परेका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकेपछि सो क्षेत्र डुबानमा परेका हुन् ।

झण्डै १ साता यता नियमित परेको वर्षातसँगै यहाँका अधिकांश सरकारी कार्यालय डुबानमा परेका छन् । कार्यालयमा सेवा लिन जाने सेवाग्राही र कर्मचारीले सडकमा नै जुत्ता खोलेर जानुपर्ने बाध्यता रहेको छ ।

डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी व्यवस्थापन वोर्ड, खानेपानी तथा सरसफाइ डिभिजन, शिक्षा विकास तथा समन्वय एकाइ, जिल्ला प्रहरी र कारागार लगायतका कार्यालय डुबानमा परेका हुन् ।

जिल्ला समन्वय समितिको मातहतमा रहेको गेष्ट हाउस चौर १ महिनाभन्दा बढी समयदेखि जलमग्न भएको छ । यी सबै कार्यालय भरतपुर महानगरपालिका–१० मा पर्छ । वडाध्यक्ष अरुणपीडित भण्डारीले पानीको निकास नहुँदा कार्यालय डुबानमा परेको बताए । आफूहरु निर्वाचित हुनुअघि नै जनप्रतिनिधिले नहर पुरेको उनको भनाइ छ ।

भण्डारीले वाइपास सडक र पूर्वपश्चिम राजमार्गमा ठूलो ढल बनाएर सोही ढलमा यस क्षेत्रको पानी मिसाउने गरी आफूले दीर्घकालीन योजना बनाएको बताए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले गेष्ट हाउस चौरलाई भने पुर्ने योजना आफ्नो रहेको जानकारी दिएका छन् । उनले भरतपुर क्षेत्रमा रहेका सरकारी कार्यालय डुबान नहुने गरी योजना बनाउनुपर्ने बताएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि नै नहर मिचिएकाले पानीले निकास नपाएको बताए । उनले भनिन्, ‘बृहत छलफल गरेर दीर्घकालिन समाधानका लागि महानगरले काम गर्छ ।’

तत्कालका लागि गर्नुपर्ने कामका लागि महानगर तयार रहेको उनको भनाइ छ । अधिक वर्षाका कारण पनि पानीले निकास नपाएको हो । रासस

कमेन्टहरु
Loading...