पोखरामा महाशिवरात्रीको अवसरमा शनिबार विश्व संगीत महोत्सव

पोखरा, ७ फागुन / महाशिवरात्रीको अवसरमा नमस्ते ब्याण्डले विश्व सङ्गीत महोत्सव हुने भएको छ । नमस्ते ब्याण्डको ३१ औं वार्षिकोत्सवको अवसरमा सङ्गीत महोत्सव गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मलेनमा महोत्सवका संयोजक तथा गायक ईश्वर गुरुङ जानकारी गराए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्ड सहित नेपालका चर्चित कलाकारको प्रस्तुति रहने छ । कार्यक्रममा दीप श्रेष्ठ, गङ्गा बर्दान, राजेश पायल राई, यम बराल, उदयमनिला र श्रेया सोताङ, उदेश श्रेष्ठ, चीरासिङ खड्का, प्रश्ना पाण्डे, अमृता लिम्बु र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

ब्याण्डहरुमा पिजेपिस जोइन्ट बयाण्ड (अमेरिका), नमस्ते ब्याण्ड (जापान र नेपाल), रन युनिटी (लाइन स्टार) युके, बमशिव मिनामी जापान, हिता ग्रुप (तिब्बत, एनइओ प्रिज्म), १९७४ एडी, कुटुम्ब ब्याण्ड, सि—वाज (कृपा फाउण्डेशन), प्रमोद निरवान्स एण्ड म्युजिक लिङ्कस, हिमालयन एण्ड कल्टीभेसन, श्री—थ्री ब्याण्ड र मिलन एण्ड द आर्टिष्ट लगायतको प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।

लेकसाइडको बाराहीघाटमा हुने १५ औं संस्करणको महाशिवरात्री सङ्गीत महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नेछन् । मध्यान्ह १२ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेश टिकट रु १०० राखिएको छ ।

कार्यक्रमबाट संकलित रकम मध्ये १२ लाख २५ हजार रुपैंया पुम्दीकोटमा निर्माणाधीन शिवमुर्तिका सहयोग गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा संगीतकार न्यू बज्राचार्यलाई सम्मान गर्ने गुरुङ्ले जानकारी गराए । हालसम्म ब्याण्डले ३ सय भन्दा बढी कलाकारलाई सम्मान गरेको उनले जानकारी दिए ।

कार्यक्रमको लागि करिब ४५ लाख ७५ हजार रुपैंयाको बजेट अनुमान गरिएको र तयारी अन्तिम चरणमा रहेको उनले बताए । ‘अब हामी कार्यक्रम देखाउन तयार छौ’, उनले भने, ‘आशा छ सम्पूर्ण पोखरेली मेरा दाजुभाई दिदीबहिनीहरुको सहयोग मिल्नेछ ।’ कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा एसटी क्रिएशन म्यानेजमेन्ट प्रालिले पाएको छ ।

नमस्ते ब्याण्डको स्थापना ३० वर्ष अघि भएको थियो । जापानबाट पहिलो पटक नेपालको पहिलो गीति सिडी एल्वम् (एकता) को बिक्रि गरी नेपालको पहिलो ब्याण्डको रुपमा परिचित भएको गुरुङले उल्लेख गरे । ब्याण्डले सामाजिक संघ संस्थाहरुको सहयोगार्थ निःशुल्क सेवा दिदै आएको उनले बताए ।

विश्वको अग्लो स्थान ५६४३ मिटर कालापत्तथर सगरमाथामा वल्र्ड हाईयेष्ट पिस कन्सर्ट गरेर ब्याण्डको नाम गिनिज बुक अफल वल्र्ड रेकर्डमा लेखाउन सफल भएको उनले बताए । गुरुङका अनुसार ब्याण्डले पर्यटन वर्ष १९९८ मा नेपालमा पहिलो पटक ३० दिनमा २९ प्रमुख शहरहरुमा मेची महाकाली सन्देश नामक साङ्गीतिक यात्रा गरेको थियो ।

ब्याण्ड रेडियो नेपाल, २०५२ सालमा राष्ट्रिय सन्देशमुलक गीत प्रतियोगितामार्फत सर्वोत्कृष्ट संगीत पुरस्कार, २०५६ सालमा ‘शान्ति शान्ति’ बोल गीतबाट गायन, रचना र संगीत गरी तिनै विधामा प्रथम पुरस्कारबाट सम्मानित भएको उनले बताए ।

कमेन्टहरु
Loading...