राम प्रसाद खनाल
नेपालको वामपन्थी आन्दोलनमा नेकपा (एमाले), जसले सात दशकभन्दा लामो संघर्षको जगमा नेपालको राजनीतिलाई जनताको बहुदलीय जनवादमार्फत मौलिक दिशा प्रदान गरेको छ। वि.सं. २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको असली उत्तराधिकारीका रूपमा नेकपा (एमाले) ले आज ७६ औँ वर्षको गौरवपूर्ण इतिहास बोकेको छ। यो अवधिमा एमाले केवल राजनीतिक परिवर्तनको संवाहक मात्र रहेन, राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय स्वाभिमानको पहरेदार र जनपक्षीय विकासको सारथी बन्यो। यो ७६ वर्षे यात्रामा एमालेलाई अहिलेको अवस्थासम्म ल्याउन गण्डकी र कास्कीको महत्त्वपूर्ण योगदान रहेको छ। यो आन्दोलनको महत्त्वपूर्ण हिस्सेदार हुन् कास्कीका खगराज अधिकारी। अहिले उहाँ एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित हुनुभएको छ।
२०१८ चैत १३ मा पोखराको बेगनासमा जन्मनुभएका खगराज अधिकारीले २०३२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो। अनेरास्ववियु (एकताको पाँचौँ) को केन्द्रीय कमिटीको उपाध्यक्ष समेत हुनुभएका अधिकारी नेपालकै सर्वाधिक विद्यार्थीले अध्ययन गर्ने पोखराको पृथ्वीनारायण क्याम्पसको दुईपटक स्ववियु सभापति हुनुभएको छ। पञ्चायती निरंकुश राजतन्त्र विरुद्धको आन्दोलनको नेतृत्व गरिरहँदा पटक-पटक गरी ५ वर्ष जेल जीवन बिताएका अधिकारीले एमालेको कास्की जिल्ला , तत्कालीन गण्डकी अञ्चल र गण्डकी प्रदेश पार्टी कमिटीको नेतृत्व गर्दै अनुशासन निरीक्षण कमिटीको सदस्य, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य र स्थायी कमिटी सदस्य भइसक्नुभएको छ। नेपाली र राजनीति शास्त्रमा स्नातकोत्तर गरिसक्नुभएका अधिकारी विद्यावारिधि पनि गर्दै हुनुहुन्छ भन्ने सुनिन्छ।
विभिन्न आन्दोलनको क्रममा आफ्नै सहयात्री र विरोधीहरूको भौतिक तथा शारीरिक आक्रमणबाट बचेका अधिकारी संसदीय राजनीतिका कुशल नेता पनि हुनुहुन्छ। उहाँ संघीय संसद्मा दुईपटक एमाले संसदीय दलको प्रमुख सचेतक समेत बन्नुभएको छ भने विभिन्न संसदीय छानबिन समितिको सदस्य र उपसमितिको संयोजक भएर कुशलतासाथ कार्य सम्पादन गरिसक्नुभएको छ। हाल उहाँ गण्डकी प्रदेश एमाले संसदीय दलको नेता समेत हुनुहुन्छ।
उहाँलाई आलोचकहरूले “रुखो बोल्ने, कार्यक्रमहरूमा पूरा समय नबस्ने, अरूका कुरा नसुनी आफ्ना कुरा राखेर हिँड्ने र कार्यक्रममै अरूको टीकाटिप्पणी र सवाल-जवाफ गर्ने” जस्ता आरोप लगाउँछन् भने समर्थकले “पार्टीको जिम्मेवारी पाउँदा वा नपाउँदा सधैँ पार्टी निर्णय र नेतृत्वको पक्षपोषण गर्ने, समयको पालक, सरल जीवनशैली, अनुशासित, मद्यपान र धुम्रपान नगर्ने, कार्यकर्ता र जनताको घरदैलोमा पुग्ने, जुनसुकै समयमा पनि फोन उठाउने, कार्यकर्ता र जनताका समस्या समाधान तथा विकास निर्माणमा विशेष ध्यान दिने” नेता भनी प्रशंसा गर्छन्।
कम्युनिष्ट आन्दोलनको एक नेता तथा कार्यकर्ताको रूपमा खगराज अधिकारी जननेता मदन भण्डारीका एक कुशल र निष्ठावान् कार्यकर्ता हुनुहुन्छ। अधिकारी नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका व्याख्याता, रक्षक र कुशल संगठक समेत हुनुहुन्छ। उहाँ कहिल्यै टुट-विभाजनको पक्षमा लाग्नुभएन। पार्टीभित्र देखा पर्ने वैचारिक विचलन र संगठनात्मक चुनौतीका बीच उहाँ सधैँ पार्टी र आन्दोलनको पक्षमा दृढताका साथ उभिनुभएको छ। मदन भण्डारीको रहस्यमय हत्यापछि खगराज अधिकारी एमालेभित्र वैचारिक रूपमा जस्तोसुकै कठिन परिस्थितिमा पनि केपी शर्मा ओलीसँग नजिक रहेर पार्टीमा दृढताका साथ अविचलित लागेका नेता हुनुहुन्छ खगराज अधिकारी । उहाँ नवौं महाधिवेशनमा आफु पराजित भएर पनि केपी शर्मा ओलीलाई अध्यक्षमा विजयी बनाउने मिसनका कमाण्डर हुनुहुन्थ्यो । भरखरै सम्पन्न ११ औं महाधिवेशनमा पनि उहाँलाई ” आफु कसरी विजयी हुने भन्दा पनि महासचिव शंकर पोखरेल माथिको घेराबन्दीलाई कसरी पराजित गर्ने भन्ने बारेमा बढी केन्द्रीत भएको देखिन्थ्यो ।”
समकालीन राजनीतिमा राजकीय सत्तामा पुगेपछि विभिन्न विवाद र आक्षेप लाग्ने गरेका प्रशस्त उदाहरण छन्। खगराज अधिकारी एउटा यस्तो नाम हो, जसले संघीय सरकारको स्वास्थ्य मन्त्री, गृह मन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री जस्ता शक्तिशाली पदहरूको जिम्मेवारी सम्हाल्दा समेत कुनै पनि भ्रष्टाचार वा नैतिक विवादको दाग लागेको छैन। कुनै बेला चर्चित रहेको सांसदहरूको “भन्सार छुटको पजेरो सुविधा” (जसलाई पजेरो काण्ड पनि भनियो), उक्त सुविधा नलिने संसद् सदस्य हुनुहुन्छ खगराज अधिकारी। उहाँ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा मन्त्रालयको संख्या घटाउने तथा खर्च कटौती गर्ने जस्ता सुशासनको पक्षमा काम गर्न थाल्नुभएको थियो तर उहाँको नेतृत्वको सरकार छोटो समयमै हट्न पुग्यो। पदमा रहँदा होस् वा नरहँदा होस्, केवल जनता र राष्ट्रको हितलाई केन्द्रमा राखेर सधैँ जनताको नजरमा निष्कलङ्क छवि र इमानदारिताको परीक्षामा उत्तीर्ण हुनु नै उहाँको सबैभन्दा ठूलो राजनीतिक पुँजी हो।
लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता नेपाली भूमिबाट भारतीय सेना हट्नुपर्छ भन्ने एमालेले लिएको चट्टानी अडानमा खगराज अधिकारीको महत्त्वपूर्ण भूमिका रहेको छ। उहाँ राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा अविचलित लाग्ने नेपाली आमाका असल छोरा हुनुहुन्छ। उहाँले यस सम्बन्धमा प्रतिनिधि सभामा २०७७।०१।२९ मा दर्ता गराउनुभएको संकल्प प्रस्ताव राष्ट्रवादको एउटा ऐतिहासिक दस्तावेज हो, जसलाई तत्कालीन सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा छलफल गर्न समेत दिएनन्।
पार्टीको ७६ वर्षे इतिहासमा कास्की जिल्लाले पहिलो पटक केन्द्रीय पदाधिकारी (सचिव) प्राप्त गर्नु ऐतिहासिक गौरवको विषय हो। आफैँले प्रोत्साहन र प्रेरित गरेका साथीहरूको असहयोगका बाबजुद ११ औँ महाधिवेशनबाट लोकप्रिय मतसहित सचिव निर्वाचित भएर उहाँले कास्कीको राजनीतिक उचाइलाई केन्द्रमा स्थापित गर्नुभएको छ।
उहाँ स्वास्थ्य मन्त्री हुँदा भएका कार्यहरूले नेपालको स्वास्थ्य प्रणालीमा आमूल परिवर्तन ल्याएको छ। उपचारको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनी उहाँले सुरु गर्नुभएको स्वास्थ्य बीमा कार्यक्रम आज नेपालको सफल सामाजिक सुरक्षा कार्यक्रम बनेको छ। देशभरिका स्वास्थ्य चौकीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्ने उहाँको निर्णयले गाउँ-गाउँमा चिकित्सकसहितको सेवा पुर्याएको छ। सरकारी अस्पतालबाट उपलब्ध हुने निःशुल्क औषधिको सूचीमा व्यापक वृद्धि गरी सर्वसाधारणलाई प्रत्यक्ष राहत प्रदान गर्नुभएको छ। कास्की र समग्र गण्डकीलाई स्वास्थ्य शिक्षाको केन्द्र बनाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनामा उहाँको भूमिका अतुलनीय रहेको छ।
अन्त्यमा शुभकामना,
नेकपा (एमाले) को ११ औँ महाधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्यलाई अझ तीव्र गतिमा अघि बढाउने संकल्प गरेको छ। यस्तो अवस्थामा कास्कीले पहिलो पटक केन्द्रीय पदाधिकारीका रूपमा खगराज अधिकारी जस्तो राष्ट्रवादी र निष्कलङ्क नेता पाएको छ। यो कास्कीका लागि ठूलो गौरवको विषय हो। जनताको बहुदलीय जनवादको विचार र विधान महाधिवेशनले दिएको कार्यदिशा “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य” लाई व्यवहारमा उतार्नुका साथै विगतबाट शिक्षा लिँदै सबैलाई साथमा लिएर जान सकेमा उहाँको निष्ठा, सादा र सरल जीवनशैली साथै जुझारु नेतृत्वले एमालेलाई सफलताको उचाइमा पुर्याउन सक्नेछ, शुभकामना ।