पृथ्वीराजमार्गको तनँहुमा पहिरोले अझै पूर्ण रुपमा सञ्चालन हुन सकेन

तनँहु, २० असोज /बुधबार देखि पहिराले बेला बेलामा अवरुद्ध भएको पृथ्वीराजमार्ग अझै दुई तर्फ सञ्चालनमा आउन सकेको छैन । पहिरोले ८ घण्टाभन्दा बढी समय अवरुद्ध भएर खुलेको पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरनी खण्ड बिहीबार पनि एकतर्फी रुपमा मात्रै सञ्चालन भइरहेको छ ।

एकतर्फी मात्रै गाडी सञ्चालन हुँदा दसैं मनाउन घर फर्कंदै गरेका यात्रु जाममा फस्ने गरेका छन् । डोजरले पहिरो पन्छाउने काम रोकेर दुवै तर्फका गाडीलाई आधाआधा घण्टामा वारपार गराएको इलाका प्रहरीले जानकारी दिएको छ ।

राति ९ बजेबाट सडक एकतर्फी खुलेको हो । बुधबार दिनभर जाममा परेका गाडी बिहानसम्म पहिरो कटेर गन्तव्यतर्फ हिँडेका थिए । अघिल्लो दिनका गाडीहरुले पहिरो पार गरेपछि गाडीको चाप घटेको प्रहरीको भनाई छ । दुईवटा डोजरले दुईतर्फी नै बाटो खुलाउन काम गरिरहेको छ । पानी नपरे साँझसम्म दुईतर्फी सडक सञ्चालन हुने अनुमान गरिएको छ ।

बुधबार बिहान ८ बजे आँबुखैरनी बजारनजिकै ऐना पहरोमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो । दिनभर पहिरो पन्छाउने काम गरेपछि साँझ एकतर्फी गाडी खुलेको थियो । पहिरोका कारण दसैंका लागि घर हिँडेका सर्वसाधरण, बिरामी बोकेका एम्बुलेन्स, पर्यटक मारमा परेका छन् ।

कमेन्टहरु
Loading...