प्युरीदोभान फागुपूर्णिमा मेलाको तयारी पूरा

पोखरा, ७ चैत्र /स्याङ्जा जिल्ला टक्सार–१, प्युरीदोभानमा हुने पाँचौं ऐतिहासिक फागुपूर्णिमा मेलाको संपूर्ण तयारी पूरा भएको छ । स्याङजा, तनहुँ र कास्कीको संगमस्थल प्युरीदोभानमा हुने मेला बिगतका बर्षमा जस्तै यस बर्षपनि स्थानीय श्री ब्राइट फ्युचर युथ क्लबको आयोजनामा  चैतको ९ गतेदेखि ११ गतेसम्म हुने मेलाको संपूर्ण तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

मेलास्थलको सरसफाईदेखि निर्माण कार्यहरु सबै पूरा गरिएको क्लबले जनाएको छ । मेलास्थलमा अस्थायी शौचालयको निर्माण, खानेपानीको प्रबन्ध, सुरक्षाकर्मी, कलकार तथा अतिथिहरुको लागि खान र बास बस्नका लागि होमस्टेको ब्यबस्था समेत गरिसकेको क्लबले जनाएको छ । क्लबका अनुसार मेलामा स्थानीय कृषिजन्य खाजा, खाना लगायत कृषि उत्पादन, कृषि औजार तथा निर्माण सामग्रीहरुको बिक्रि बितरणका लागि करिव तीस वटा निशुल्क स्टलहरुको निर्माण गरिसकिएको छ ।

मेला मूल आयोजक समितिका संयोजक राजकुमार केसीले मेलाको तयारीका लागि कुनै कसर बाँकी नराखिएको बताउनुभयो । ‘प्राचीनकालदेखि चल्दै आएको मेलालाई बिगतको बर्षमा जस्तै यस बर्षपनि सफलताका साथ सम्पन्न गर्ने उद्देश्यका साथ लागि परेका छौं, यसमा सबैको सहयोग आबश्यक छ,’–संयोजक केसीको भनाई छ ।मेलामा गाँउस्तरिय खुल्ला भलिबल प्रतियोगिता, छोंटो दूरीको पुरुष÷महिला दौड प्रतियोगिता र छेलो हान्ने प्रतियोगितालाई समावेश गरिएको छ ।

खेलकुदमा सहभागि टिम तथा खेलाडीका लागि निशुल्क नाम दर्ता ब्यबस्था गरिएको खेलकुद संयोजक नारायण भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार, स्व.धर्मबहादुर गुरुङ स्मृति गाँउस्तरिय खुल्ला भलिबल प्रतियोगितामा करिव १५ टिमले सहभागिता जनाउनेछ । भलिबल प्रतियोगितामा बिजेताले नगद २५ हजार र उपबिजेताले नगद १५ हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्रको पुरस्कार रहेको छ ।

त्यस्तै, स्व. नरबहादुर बोहरा स्मृति छोटो दूरी दुईसय मिटरको पुरुष÷महिला दौड प्रतियोगितामा बिजेताका लागि नगद दुई हजार र उपबिजेताका लागि नगद एकहजार रुपैयाँको साथमा ट्रफीको ब्यबस्था गरिएको छ । स्व. नरबहादुर कार्की स्मृति छेलो हान्ने प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई हजार रुपैयाँ प्रदान गरिने भण्डारीले बताउनुभयो । मेलामा ख्यातिप्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति रहनेछ । प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, राजन गुरुङ, राजन कार्की, रबिन खड्का, प्रदिप त्रिपाठी, लक्ष्मी नेपाली र प्रिति आलेको बेजोड सांगितिक प्रस्तुति रहनेछ ।

पोखरेली धुर्मस राजेन्द्र नेपाली र माग्ने बुढा युवराज भण्डारीको हाँस्य प्रहसनले मेलामा थप मनोरञ्जन प्रदान गर्ने मेला सांस्कृतिक संयोजक शालिकराम पौडेलले बताउनुभयो । मेलामा स्थानीय जातजातिको भेषभूषा सहितको सांस्कृतिक झाँकी तथा घाँटु नाच, सोरठी भजन र लाखेनाचको प्रदर्श गरिनेछ । साथै, प्युरीदोभान क्षेत्रका स्थानीय ओजश्वी ब्यक्तित्वहरुलाई बिशेष सम्मान गरिने कार्यक्रम रहेको छ ।

गण्डकी अञ्चलको स्याङ्जा, कास्की र तनहुँ जिल्लाको संगमस्थल प्युरीदोभान क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि संभावना बोकेको ऐतिहासिक स्थानको रुपमा लिइन्छ । पोखरादेखि पूर्वी दक्षिणतर्फ १८ किलोमिटर, स्याङ्जाको बाड्खोलादेखि पूर्वतर्फ २५ किलोमिटर तथा तनहुँको दुलेगौंडादेखि पश्चिमतर्फ १४ किलोमिटर दूरीमा प्युरीदोभान रहेको छ ।

कमेन्टहरु
Loading...