राजनीति सगँ जोडिएको छैन, व्यवसायिक उमेद्वारी हो- दामु अधिकारी (विज्ञप्तिको पूर्ण पाठसहित)

पोखरा, २९ भदौ/पोखरा उद्योग वाणिज्य संघको महासचिवमा उम्मेद्वार दामु अधिकारीले आफ्नो उम्मेदवारी पूर्ण रुपमा व्यवसायिक भएको बताएका छन् । राजनीतिक पार्टीसँग आफ्नो नाम जोडेर प्रचारप्रसार गरिएको प्रति खण्डन गर्दै उनले आफू स्वतन्त्र रुपमा उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेको बताए ।

जगदम्बा प्रतिष्ठानद्वारा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले एक वर्ष अगाडिदेखि महासचिव पदमा उम्मेदवारी सार्वजनिक गरेको बताए । उनले आफुलाई कुनै पार्टि सगँ जोडेर नहेन आग्रह गर्दै महासचिबमा विजयी भए पछि आफु व्यवसायीकै काम लाग्ने बताए । उनले दुई वटा डुंगामा खुट्टा राख्दा पल्टिने सम्भावना रहेको बताउँदै आफूले उद्योग वाणिज्य संघको डुंगामात्र चढ्ने बताए ।

राजनीति सगँ जोडिएको छैन, व्यवसायिक उमेद्वारी हो- दामु अधिकारी
राजनीति सगँ जोडिएको छैन, व्यवसायिक उमेद्वारी हो- दामु अधिकारी

चुनावी प्रचार–प्रसारमा हिड्ने क्रममा उद्योगी व्यवसायीबाट प्राप्त साथ र समर्थनबाट आफू निकै उत्साही भएको अधिकारीले बताए । ‘संघ निजी क्षेत्रको छाता संस्था हो । संघको गरिमा उच्च छ,’ उनले भने, ‘आम उद्योगी तथा व्यवसायीहरुको भावनाको सम्मान गर्दै छाता संस्थाको गरिमा जोगाउने गरी काम गर्छु ।’

सम्पूर्ण व्यवसायीको साथ र सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको अधिकारीले बताएका छन् । म महासचिव भइसकेपछि संघको प्रशासनिक पाटोलाई आधुनिकीकरण गर्छु ।’ प्रशासनको जिम्मेवारी महासचिवसँग हुने भएकाले र त्यस पदमा पुगेर आफ्नो क्षमता देखाउने अवसर मिल्ने भएकाले उम्मेदवार बन्न लागेको अधिकारीले बताए ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिको पूर्ण पाठ

जगदम्बा प्रतिष्ठान पोखराद्वारा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भइदिनुभएकोमा सम्पूर्ण पत्रकार साथीहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु तथा सम्पूर्ण शुभचिन्तक महानुभावहरुलाई हार्दिक स्वागत गर्दछु । पोखराको सबैभन्दा जेठो र निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको महासचिव पदमा म दामु अधिकारीले उम्मेदवारी प्रस्तुत गरेको यहाँहरुलाई सर्बबिधितै छ ।

मुलुक संघीय ढाँचामा गइसकेपछि पोखरा उद्योग वाणिज्य संघ यो राज्यको सबैभन्दा शसक्त भूमिका खेल्ने व्यवसायिक संस्था भएका कारणले यसको भूमिका अहिलेको भन्दा धेरै गुणा बढ्ने निश्चित छ । त्यसैले यो संस्थालाई अझै व्यवसायिक र समय सापेक्ष बनाउन जरुरी भएको महसुस गरी महासचिव पदमा उम्मेदवारी प्रस्तुत गरेको हुँ । अबको पोखरा उद्योग वाणिज्य संघको प्रशासनिक ढाँचामा आमूल परिवर्तन गर्न आवश्यक छ । पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल बन्ने भइसकेपछि राष्ट्रिय तहमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत हाम्रो महत्वपूर्ण भूमिकाको आवश्यकता छ । यसका लागि अबको कार्यसमिति पूर्ण रुपमा तयार हुनुपर्छ भन्ने मलाई राम्रो ज्ञान छ ।

संघको गरिमा र व्यवसायिक प्रतिष्ठा उच्च बनाउने मेरो पवित्र भूमिका हुँदाहुँदै महासचिवको उम्मेदवारी प्रस्तुति गरेलगत्तै मलाई कुनै राजनीतिक दलसँग जोडेर केही सञ्चार माध्यममार्फत समाचार सम्प्रेषण भएकाले मेरो गम्भिर ध्यानाकर्षण भएको छ । म लामो समयदेखि व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको छु । बिगत १० वर्षदेखि प्रत्यक्ष रुपमा संघमा आबद्ध भइ काम गरेको र ३ कार्यकाल अर्थात ६ वर्ष त कार्यसमितिमै रहेर काम गरेको यहाँहरुलाई जानकारी भएकै विषय हो । यो अबधिमा मैले कुनै राजनीतिक दलसँग नजिकको सम्बन्ध राखेर पोखरा उद्योग वाणिज्य संघको शुद्ध व्यवसायिक गरिमालाई कम गराउने काम गरेको छैन । तर मैले महासचिवको उम्मेदवारी घोषणा गरेपछिको अवस्थामा कुनै पार्टीसँग जोडिदिनु मेरो व्यवसायिक निष्ठा माथि अन्याय भएको महसुस गरेको छु ।

आदरणीय पत्रकार साथीहरु मेरो उम्मेदवारी घोषणा आकस्मिक रुपमा भएको होइन । एक वर्ष अगाडि विधान संशोधन भए लगत्तै संघको कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य साथिहरुसँग सल्लाह र सुझाव लिएरै आफूलाई महासचिवको रुपमा प्रस्तुत गरेको हुँ । मैले संघको महासचिव पदको दावी गरिरहँदा त्यो पदका लागि म कसरी सक्षम भएँ स्पष्ट पार्न चाहन्छु । म व्यवसायिक क्षेत्रमा प्रवेश गरेको करिब २० वर्ष भइसकेको छ । यस अवधिमा मैले धेरै व्यवसायिक र सामाजिक संघसंस्थाका विभिन्न जिम्मेवार पदहरुमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेको छु ।

व्यवसायिक संघसंस्थालाई जोड्नुपर्दा आफू संलग्न भएको व्यवसायिक संस्था पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनको संस्थापक सचिव भई संस्थाको स्थापनामा महत्वपूर्ण योगदान पु¥याई दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरी अध्यक्ष पदसहित कुशलतापूर्वक पुरा गरी नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनको केन्द्रीय उपाध्यक्षको भूमिका समेत निर्वाह गरिसकेको छु । सामाजिक संघसंस्थाका हिसावले नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता लिई उपशाखा ५ सँग आबद्ध रही बिगत १० वर्षदेखि विभिन्न जिम्मेवारी बहन गर्दै आएको छु । लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनको १३ वर्ष अगाडि संस्थापक सचिवको रुपमा काम गरी क्लबको उपाध्यक्ष, अध्यक्ष हुँदै क्लबलाई राम्रो छबिका रुपमा स्थापित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको छु । साथै लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको जोन चेयरपर्सन, रिजन चेयरपर्सन, कमिटि चेयरपर्सन लगायतका विभिन्न पदहरुमा भूमिका निर्वाह गर्दै हाल डिष्ट्रिक्ट एडभाइजरको भुमिकामा छु ।

त्यसैगरी म शुभ जगदम्बा टुर्स एण्ड ट्राभल्स पोखरा प्रा.लि, शुभ जगदम्बा टायर एण्ड ट्रेड प्रा.लि, पोखरेली ए टु जेट इन्भेष्टमेन्ट कम्पनी प्रा.लि, शुभजगदम्बा कंक्रिट ब्लक उद्योग, शुभ जगदम्बा अटोमोबाइल्स लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानमा आबद्ध रहँदै आएको जानकारी गराउँछु । पर्यटकीय नगरी पोखरालाई अन्तर्राष्ट्रिय शहरसँग जोड्ने कामसमेत म आबद्ध व्यवसायिक प्रतिष्ठानबाट भइरहेको छ । म सञ्चालक रहेको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिले पोखराको पर्यटन प्रवद्र्धनमा जोड दिँदै करिब १० वर्ष अगाडिबाट पोखरा–दिल्ली पर्यटक बस सेवा सञ्चालन गर्दै आइरहेको छ । त्यसैले व्यवसायिक आबद्धता र सामाजिक सेवाको भावबाट ओतप्रोत भएका कारणले पोखरा उद्योग वाणिज्य संघको महासचिव पदमा दावेदारी प्रस्तुत गर्नु मेरो स्वभाविक अधिकार हो । यही रुपमा बुझिदिनहुन हार्दिक आग्रह गर्दछु ।

अन्त्यमा, पोखरा उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीहरुको विशुद्ध छाता संस्था हो । यो संस्थालाई राजनीतिक रंग दिएर बदनाम गर्न खोज्नेहरुको नियत सफा देखिँदैन । त्यसैले आम सञ्चार माध्यममा कार्यरत पत्रकार साथीहरुमार्फत यो संस्थालाई विशुद्ध व्यवसायिक संस्थाकै रुपमा स्थापित गराउने हाम्रो अभियानमा साथ दिनुहुन हार्दिक अपिल गर्दछु ।

दामु अधिकारी
सञ्चालक
जगदम्बा प्रतिष्ठान पोखरा
एवं
महासचिव पदको उम्मेदवार
पोखरा उद्योग वाणिज्य संघ

कमेन्टहरु
Loading...