आमाको सम्झनामा “हामी थ्री सिस्टर्स” पुस्तक विमोचन

पोखरा, १ फागुन /आमा लीलामाया कार्कीको बार्षिक पुण्य तिथिको अवसर पारेर आमालाई समर्पित गर्दै पर्यटन क्षेत्रमा आबद्ध थ्री सिस्र्टस लक्की कार्की, डिक्की कार्की र निक्की कार्कीद्धारा लिखित “हामी थ्री सिस्टर्स”को पुस्तक मंगलबार विमोचन गरिएको छ ।

पर्यटन क्षेत्रमा पच्चीस बर्षदेखि क्रियाशिल रहँदै आउदा आफुले भोगेका दुःख, मर्म एवं अनुभवहरुलाई साहित्यिक धार मार्फत प्रस्तुत गरिएको छ भने सोहि कार्यक्रममा स्व आमा लीलामाया कार्कीको सम्झनामा श्रद्धान्जली अर्पण समेत गरिएको छ ।

कार्यक्रममा “हामी थ्री सिस्टर्स”को पुस्तक विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ नाटककार एवं उपन्यासकार सरुभक्तले पर्यटन क्षेत्रमा रहेर लेखिएको पुस्तक साहित्यीक सँगालो मात्र नभई सबैलाई प्रेरणा दिने र दुःख, मर्म एवं भोगाईलाई शब्दमा रुपान्तरण गरी लेखिएको एउटा अनुभवी पुस्तक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ साहित्यको क्षेत्रमा बिशेष गरी युवा वर्गमा जिवनमा के गर्ने भन्ने समस्या रहेको हुन्छ ? तर जिवनलाई सार्थकता तुल्याउनु नै जिवनको लक्ष्य हो ।” यो पूस्तक युवाहरुका लागि प्रेरणाको स्रोत हुने दाबी उहाँको थियो । उहाँले उक्त पुस्तकलाई अंग्रजीमा अनुवाद गर्न समेत सुझाव दिनुभयो ।

कार्यक्रममा थ्रि सिस्र्टसमा २५ बर्षको आरोहमा अविभावकत्वको भुमिका निर्वाह गर्दै निरन्तर सहयोग र सद्भाव प्रदान गर्ने अग्रज पर्यटन व्यबसायी एवं समाजसेवी निलकण्ठ शर्मा र नेपाल पर्यटन बोर्डका पुर्व सञ्चालक समितिका सदस्य बासु त्रिपाठीलाई थ्रि सिस्र्टस सम्मानले सम्मानित गरिएको थियो ।
“हामी थ्री सिस्टर्स” माथि चर्चा गर्दै वरिष्ठ निबन्धकार एवं मदन पुरस्कार विजेता युवराज नयाँघरेले पुस्तक निकै मिठो एवं कलात्मक रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा रहेर लेखिएको यस पुस्तकमा इमान्दारिता भेटेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व निलकण्ठ शर्र्माले कुनै पनि समाजको परिवर्तनका निम्ती महिला र पुरुषलाई समान आँखाले हेर्ने परिपाटिको बिकास हुदैन तबसम्म समृद्धि सम्भव नरहेको बताउनुभयो । यसै गरि अर्का सम्मानित व्यक्तित्व बासु त्रिपाठीले नेपालको पर्यटन क्षेत्रमा महिलाहरुको निरन्तरतामा कमि, भाषागत समस्याहरु प्रशस्त रहेका कारण पर्यटन क्षेत्रमा अर्थपूर्ण सहभागिताको कमि रहेको अबस्थामा थ्रि सिस्टर्स संस्थाले गरेका कार्यले सकारात्मक परिवर्तन ल्याउन सघाउ पुर्याएको बताउनुभयो ।

पुस्तकमा पर्यटनलाई कसरी राम्रो बनाउने, बिकृति बिसंगतीलाई कसरी हटाउने लगायतका बिषयहरु समेटिएको साथै पोखरामा काम गर्दा हुने दुःख,मर्महरुलाई विश्वले पढ्न लायक रहेको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै थ्री सिस्र्टसका संचालक एवं हामी थ्री सिस्टर्स पुस्तककाका लेखिका लक्की कार्कीले आमा एउटा शक्तिको स्रोत रहेको बताउँदै उहाँको शक्तिले सदैव प्रेरणा थपेको बताउनुभयो ।

उहाँले यस संस्थाको स्थापनाकाल देखि नै सहयोग पुर्याउने सबै प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले हामी थ्री सिस्र्टस नामक पुस्तकमा हाम्रा चुनौती, समस्या एवं उपलब्धिहरुको बारेमा लेखिएको बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, कास्कीका उपाध्यक्ष एवं रेडियो जननी ९०.६का स्टेसन म्यानेजर बिमला भण्डारीले स्वर्गिय आमालाई रेडियोले विशेष जननी सम्मान गरेको स्मरण गराउनुभयो ।

उहाँले पर्यटन क्षेत्र सँगै साहित्यको पाटोलाई पनि आत्मसाथ गर्दै थ्री सिस्टर्सले अगाडी बढेकोमा भावी समयमा उत्प्रेरणाको स्रोतको रुपमा थ्री सिस्टर्स रहने बताउनुभयो । उक्त कार्यक्रममा बरिष्ठ पत्रकार एवं साहित्यकार बद्रि बिनोद प्रतिक, संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय एवं नेपाल माउन्टेन एकेडेमीका प्रशासन प्रमुख उत्तम भट्टराई, रेडियो जननीका अध्यक्ष मिलन थापा , कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

सो सभाको अध्यक्षता निक्की कार्किले गर्नुभएको थियो भने धन्यवाद डिक्की कार्किले गर्नुका साथै कार्यक्रम संचालन बंग्लादी आमा समुहको अध्यक्ष बिनिता अधिकारीले गर्नुभयो ।

कमेन्टहरु
Loading...