युवतीको हत्या गरी नगद लुटेर फरार

पाँचथर, ४ असार /पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा मंगलबार युवतीको हत्या गरी नगद हत्याराले लुटेको खुलेको छ ।

पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको ७८ हजार ५ सय लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर जोरपोखरी फर्कदै गरेकी तामाङलाई जङ्गलको बीचमा रहेको गोरेटो बाटोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार मंगलबार अपराह्न पौने ४ बजे विद्यालयबाट घर फर्कने क्रममा एक शिक्षकले तामाङको शव बाटोभन्दा करीब ३० मिटर तल देखेर प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी निरीक्षक पौडेलका अनुसार झोलामा रहेको नगद लुट्ने क्रममा झोला चुँडिएको र त्यहाँ रहेको नगद लुटिएको पाइएको छ । मृतक तामाङको घाँटी, हात र पेटमा धारिलो हतियार प्रहार गरिएको थियो ।

प्रहरीका अनुसार तामाङले दिउँसो करिब ३ बजे आफ्ना बाबुलाई फोन गरेर आफू कार्यक्षेत्रमामा रहेको जानकारी दिएकी थिइन् । सोही समय आसपासमा उनका एक केटा साथीले उनी बैठकमै रहेको समयमा फोन गरेका थिए ।

पछि तामाङले लामो समय फोनमा कुराकानी गरेको पाइएको प्रहरीले जनाएको छ । यस आधारमा तामाङको ३ बजेदेखि ३ः३० बजेभित्र हत्या भएको प्रहरीको अनुमान छ । प्रहरीले तामाङबारे राम्रोसँग जानकारी भएका व्यक्तिबाट हत्या भएको अनुमान गरेको छ ।

‘उनीसँग पैसा छ भन्ने जान्ने मान्छेबाटै हत्या भएको हुनुपर्छ,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘कसैले सूचना दिएर वा बाटो ढुकेर हत्या गरिएको हुनुपर्छ ।’ इलामको माइजोगमाई गाउँपालिका–५ सोयाङ घर भएकी २० वर्षीया तामाङ केही महिनादेखि एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन् । उनी इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।

कमेन्टहरु
Loading...