बिकाउ ‘ब्राण्ड’ बन्दै पोखराको राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा,६ फागुन / अन्तर्राष्ट्रिय सहरको आकार लिँदै गरेको पोखरा । हिमाल र तालको अनुपम संगम ! तेस्रो विश्वका पर्यटकको आँखा परेको बेला । परम्परागत पेशा÷ व्यवसायले आधुनिकता खोज्ने नै भयो ।

२०३२ साल तिर पोखरामा औद्योगिक क्षेत्र स्थापना भएसँगै व्यापारीको संस्थाले पनि लय समात्यो । २०३३ सालमा नाम बदलेर पोखरा उद्योग वाणिज्य संघ बन्यो । सहर सानो थियो । गतिविधी सिमित । वर्गीय हितको अलावा शैक्षिक विकासमा योगदान दिँदै आएको संघको तत्कालीन नेतृत्वको आँखा परम्परागत मेला र महोत्सवलाई व्यवस्थित र व्यवसायिकरण गर्ने तिर सोझिए ।

अनि, २०४२ सालमा नेपालकै इतिहासमा निजी क्षेत्रको तर्फबाट संस्थागत रुपमा औद्योगिक व्यापार मेला–२०४२ आयोजना गरियो । तत्कालीन अवस्थामा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले मेला आयोजनाको क्षण सम्झँदै भनेका थिए–‘ मेला र महोत्सवको माध्यमबाट आर्थिक गतिविधी बढाउन सकिन्छ भन्ने सोचले नै मेला आयोजना गरिएको हो ।’ परम्परागत मेला र महोत्सवलाई आर्थिक उन्नयनको माध्यम बनाउने त्यो सोच निजी क्षेत्रको नुतन कदम भएको उनको बुझाइ छ ।

मेलाको सफलताले संघ हौसियो । २०४९ सालमा त्यस्तै मेला आयोजना भयो । २०५२ सालमा मेलालाई महोत्सवको रुप दिइयो । लेकसाइडको बसुन्धरा पार्कमा आयोजित पोखरा महोत्सवमा पोखराका सबै साँस्कृतिक गतिविधी, औद्योगिक प्रदर्शनीसहित सम्पूर्ण पोखराको झलक राखिएको थियो । पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष अशोक पालिखेका अनुसार पोखराका सम्पूर्ण गतिविधी समेट्ने सो महोत्सव हेर्न पूर्व मेचीदेखि महाकालीसम्मका मानिस पोखरा आएका थिए ।

संघको सिको सबैले गरे । देशैभर मेला र महोत्सव आयोजना हुन थाले । देश द्धन्द्धको मारमा परेको बेला समेत मेला र महोत्सव रोकिएन । ‘ एक सय जना मानिस जम्मा हुन नसक्ने बेलामा आयोजित मेलाले आर्थिक गतिविधी चलायनमान बनाउँदै अर्थतन्त्र जोगाउन ठूलो मद्दत ग¥यो ।’–संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठले ती दिन सम्झँदै भने । मेलासँगैको मनोरञ्जनात्मक कार्यक्रमले हिँसा भुलाएको उनको तर्क रहेको छ ।

संघ मेलाको पछिल्लो संस्करण आयोजनाको तयारीमा रहेको छ । संघका कार्यबाहक अध्यक्ष देव क्षेत्रीका अनुसार राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ अहिले भने पोखरेली ब्राण्ड बनेको छ । आयोजना हुने मिति कुर्दै मेलामा स्टल राख्न चाहनेहरुका कारणले मात्र नभई विभिन्न व्यवसायिक घरानाहरुले व्यापार प्रवद्र्धन गर्ने थलोको रुपमा मेलालाई हेर्न थालेका छन् ।

‘व्यापार मेलाको यो संस्करणमा प्रायोजकहरुले देखाएको सहृदयता र चासोले पनि मेला ब्राण्ड बनेको प्रमाणित भएको छ’, उनले भने,‘ देशमा चलेका राम्रा ब्राण्डहरुले मेला प्रायोजन गर्नु यसको उदाहरण हो ।’ उनका अनुसार मेलाको मुख्य प्रायोजकको रुपमा यस पटक अर्घाखाँची सिमेण्टले भूमिका निभाएको छ भने सह प्रायोजकको भूमिकामा रस्लान भोड्का रहेको छ । यसैगरी सहप्रायोजकको रुपमा रहेको राष्ट्रिय बाणिज्य बैंकलगायतका प्रतिष्ठित उद्योग र संस्थाहरुले समेत मेलासँग हातेमालो गरी मेलालाई स्थापित ब्राण्ड बनाउन सघाएको संघका कोषाध्यक्ष दीपिलराज श्रेष्ठको अनुभव रहेको छ । ‘पोखरामा आयोजना हुने यो मेघा इभेण्टसँग जोडिएर आफ्नो ब्राण्ड र व्यवसाय प्रवद्र्धन गर्न खोज्ने उद्योग र प्रतिष्ठानहरु बढ्दै जानु खुसीको कुरा हो ।’– उनले भने ।

संघका महाससचिव तथा मेला प्रचार प्रसार समितिका संयोजक रवीन्द्रबहादुर प्रजुका अनुसार मेलाको मिति नजिकिँदै गर्दा मेलाका सम्पूर्ण तयारीहरु अन्तिम चरणमा पुगेका छन् । मेलालाई पोखरेलीको स्थापित ‘ब्राण्ड’ बनाउन आयोजकको तर्फबाट कुनै कसर बाँकी नराखिने उनले बताए । यही फागुन २१ देखि चैत १ गतेसम्म आयोजना हुने मेलाको मुख्य नारा ‘लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन ’ रहेको छ ।

कमेन्टहरु
Loading...