गण्डकी मेडिकल कलेजका विद्यार्थी फेवातालमा मृत भेटिए

पोखरा, २ चैत /गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा शनिबार मृत भेटिएका छन् । बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाहले प्रारम्भिक अनुसन्धानमा शिशिरले आफ्नो साथीलाई पठाएको म्यासेज अनुसार शिशिर आफै हामफालेको तथ्य भेटिएको बताए । ‘साथीलाई यहाँ खोज्न आउनु भनेर म्यासेज पठाएको तथ्य फेला पार्यौं ।’ उनले भने – ‘बाहिरी कपडा सबै खोलेर तालमा पसेछ । मोटरसाइकल माथि नै थियो, हेलमेट तल थियो ।’

डिप्रेशनको औषधि समेत प्रयोग गर्ने गरेको थाहा भएको प्रहरीले जनाएको छ । शनिबार विहान सवा ९ बजेतिर खबर प्राप्त गरेपछि तत्काल पुगेको प्रहरी, सशस्त्रले तालबाट शिशिरको शव निकालेको डिएसपी शाहले जनाए । प्याराग्लाइडिंग ल्याण्ड हुने स्थान खपौदी क्षेत्रमा उनी भेटिएका हुन् ।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...