पोखरामा नयाँ वर्ष महोत्सव सुरु

पोखरा, २८ चैत /पोखराको फेवा किनारमा तेह्रौं संस्करणको फेवा नव वर्ष महोत्सव २०७३ आइतबारबाट सुरु भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा सुरु भएको महोत्सव आगामी बैशाख २ गतेसम्म संचालन हुने छ । महोत्सवको पश्चिमाञ्चलका क्षेत्रीय प्रशाशक शंकरप्रसाद कोइरालाले उद्घाटन गरेका थिए ।

पोखरामा नयाँ वर्ष महोत्सव सुरु
पोखरामा नयाँ वर्ष महोत्सव सुरु

कार्यक्रममा उनले पोखरा सुन्दर पर्यटकीय शहर रहेको स्मरण गराउँदै नेपाली संस्कृतिको जगेर्नाको लागि आयोजित महोत्सवको प्रशंसा गरे । फेवा किनार स्थित बसुन्धरा पार्कमा आयोजित महोत्सवमा विभिन्न होटल र रेष्टुराँका खानाका स्टलहरु रहेका छन् । महोत्सवमा खानाका १२ र अन्य ४० वटा स्टल रहेको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । फेवा तालको संरक्षण गर्दै देशविदेशका पर्यटकलाई पोखरा आमन्त्रण गर्ने उद्धेश्यका साथ महोत्सव आयोजना गरिएको उनले सुनाए ।

महोत्सवका अवसरमा होटलका विस्तारामा २० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी पनि उनले दिए । सो अबरमा महोत्सवका संयोजक विकल तुलाचनले संस्कृति, पर्यटन र खानालाई केन्द्रमा राखी महोत्सव आयोजना गरिएको बताउँदै महोत्सवले पोखरामा पर्यटकहरु बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । महोत्सवको उद्घाटन कार्यक्रम अघि स्थानीय हल्लनचोकबाट बसुन्धरा पार्कसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो । झाँकीमा बैदाम नेवाः कच खल प्रथम, बंगलादी आमा समूह दोश्रो र बाँझापाटन तमु समाज तृतीय भएको संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी तीन गाउँले थकाली समाजले सान्त्वना स्थान हासिल गरेको थियो ।

उद्घाटन कार्यक्रममा सभासद यज्ञबहादुर थापा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेशबहादुर भट्टराई, राष्ट्रिय पर्यटन परिषद्का सदस्य बासुदेव त्रिपाठी, एमाले कास्कीका प्रमुख कृष्ण थापाले भनाई राखेका थिए । यसैगरी एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, संघका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई, पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष प्रकाश खनाल, नेपाल पत्रकार महासंघ कास्कीका सभापति रामकृष्ण ज्ञवाली, रेवान पोखराका अध्यक्ष गोपिबहादुर भट्टराई र जगदम्बा आमा समूहकी अध्यक्ष दुर्गा पहारीले पनि शुभकामना मन्तव्य दिएका थिए ।

कमेन्टहरु
Loading...