पासवर्ड चोरेर कृषि विकास बैंकको डेढ करोड रुपैयाँ चोरी

काठमाडौं, ८ असोज/ कृषि विकास बैंकको डेढ करोड भन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै कर्मचारीको पासवर्ड प्रयोग गरेर चोरी भएको छ । सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्ड मार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो ।

बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ । त्यस्तो पासवर्ड धेरै कर्मचारीले प्रयोग गरिरहेका हुन्छन् । पासवर्डबाट असोज ५ गते १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारिएको थियो । चोरी गर्ने समूहले त्यसपछि देशका विभिन्न ठाउँबाट जम्मा गरिएको रकम निकालेको थियो । बैंकका प्रवक्ता हिमलाल पौडेलले यो प्रकरणमा बैंकको सिस्टम ह्याक नभएको बताए ।

समूहले पैसा जम्मा गरेका सात वटै खाता अहिले बन्द गरिएको छ । बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट एघार जनालाई पक्राउ गरेको हो । ह्याकरले के कति रकम झिकेको भन्नेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन । नेपाल प्रहरीको साइबर सुरक्षा टोली र बैंकको विज्ञ टोलीले यसबारे अनुसन्धान गरिरहेको छ ।

क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाल्ने कार्यमा संलग्न १२ जना पक्राउ

कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाल्ने कार्यमा संलग्न १२ जनालाई उपत्यका तथा उपत्यका वाहिरका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनीक गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङ गाउँपालिका ४ ठेगाना भएका ४३ वर्षीय लवाङ तामाङ, रसुवा नौकुण्ड गाउँपालिका ५ ठेगाना भएकाहरु ४० वर्षीय लक्ष्मी लामा तामाङ २० वर्षीया निर्मला तामाङ तथा १८ वर्षीय निमा तामाङ, काठमाडौं तार्केश्वर नगरपालिका २ काभ्रेस्थली ठेगाना भएका २६ वर्षीय संजय घले, सर्लाही हरिवन नगरपालिका २ ठेगाना भएका ४२ वर्षीय पुष्पराज खड्का, लम्जुङ दोर्दी गाउँपालिका ३ ठेगाना भएका २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँ भानु

नगरपालिका ९ ठेगाना भएका ३८ वर्षीय श्रवण कुमार श्रेष्ठ, भक्तपुर ठिमी नगरपालिका ४ ठेगाना भएकी ३२ वर्षीया सुनिता श्रेष्ठ, काठमाडौं टेबहाल बस्ने भारत कलकत्ता घर भएका ३० वर्षीय शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका ३ ठेगाना भएका २२ वर्षीय विजय साह र कैलाली भजनी नगरपालिका १ ठेगाना भएका ४५ वर्षीय चन्द्र बहादुर बुढा रहेका छन् ।

भारतको मुम्बईमा बस्ने बिदेशी नागरिक काले भन्ने पिटरले मुम्बईमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट ५ अर्ब भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाई नेपाली नागरिकहरूलाई प्रयोग गरी उक्त बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाली रहेको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

कृषि विकास बैंकबाट हालसम्म ऐकिन भएको रकम ४ करोड ७३ लाख ९६ हजार र पानस रेमिट नयाँबानेश्वरबाट १२ लाख ह्याक भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो महाशाखाले जनाएको छ ।

पिटरले नेपालका मानिसहरूसँग सम्पर्क गरी भारतमा नै बोलाई मिटिङ गरी कमिशनको डिल गरी विभिन्न बैंक तथा वित्तिय संस्थाको ठूलो धन रासी ह्याक गर्ने गरेको, विभिन्न बैंक तथा वित्तिय संस्थाको ह्याक गरेको रकम नेपाली व्यक्तिहरूको नाममा निकाली १५ देखि ३५ प्रतिशत कमिसन दिई बाँकी रकम हुण्डी मार्फत पुनःभारत पठाउने गरेको तथा नेपालका एजेण्डहरूलाई नविल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरूमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएको समेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका १२ जनालाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

कमेन्टहरु
Loading...