मनिपालका डाक्टरले चलाएको कारको ठक्करबाट ४ वर्षीय बालकको हस्पिटल पार्किङमै मृत्यु

हस्पिटलमा आफन्त र प्रहरीबीच तनाव

रञ्जन अधिकारी
पोखरा, ७ असार /मनिपाल अस्पतालमा कार्यरत एक डाक्टरले चलाएको कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मनिमापल अस्पतालमा कार्यरत विश्वदीप तिमिल्सिनाले चलाएको कारले ठक्कर दिँदा चार वर्षीय बालकको घटनास्थलमै ज्यान गएको छ ।

पोखरा २८ माझठाना घर भएका ४ वर्ष २ महिना उमेरका बालक संस्कार कँडेलको मनिपाल अस्प्ताल पार्किङ एरियामा डा. तिमिल्सिनाले चलाएको कारको ठक्करबाट ज्यान गएको हो ।

बालक आफ्ना बुबाआमासँग विहान ८ बजे पोखरा रानीपौवाबाट मनिपाल अस्पतालमा उपचाररत आफ्नी हजुरआमा भेट्न अस्पताल पुगेका थिए । बुबाको मोटरसाइकलबाट झरेपछि साइड लागेका बालकलाई डाक्टर तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

शनिबार विहान साढे ८ बजे घटना भएको ५ मिनेटपछि ईमर्जेन्सी कक्षमा लगिएको जनाउँदै बालकका आफन्तले पौने १० बजे मात्र बालकको मृत्यु भएको अस्पतालबाट जानकारी आएको बताएका छन् । आफन्तले भने बालकको ‘अन द स्पट डेथ’ भएको उल्लेख गरेका छन् । प्रहरीहरु अहिले अनुसन्धानमा रहेकाले घटनाबारे पछिमात्रै सञ्चारमाध्यमलाई जानकारी दिने बताएको छ ।

आफन्त भन्छन्ः एक हातमा मोबाइल, अर्को हातमा स्टेयरिङ

मृतक बालकका आफन्तले डाक्टर विश्वदीपको चरम लापरबाही रहेको आरोप लगाएका छन् । डाक्टर एक हातले मोबाइलमा गफ गर्दै एक हातले स्टेयरिङ समातेर गाडी हुईंक्याएको आफन्तको जिकिर छ । उनीहरुले डाक्टरलाई हदैसम्म कारबाहीको माग गरेका छन् ।

हस्पिटलमा आफन्त र प्रहरीबीच तनाव

बालकका आफन्तले डाक्टर विश्वदीप तिमिल्सिनालाई अस्पतालमै झिकाएर घटनाबारे उनकै मुखबाट सुन्न चाहेको बताएका छन् । तर, डाक्टर तिमिल्सिना र ठक्कर दिने कारलाई भने प्रहरीले कास्की प्रहरी चौकी लगिसकेको छ ।

अहिले अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ । आफन्तले गैरजिम्मेवार चालकलाई कडा कारबाही नभएसम्म मृतक बालकको शव नबुझ्ने जनाएका छन् । प्रहरीले आफन्तलाई अस्पतालमा रोकेको छ । आफन्तहरु भने प्रहरीसँग रुष्ट बनेका छन् ।

अपराधी डाक्टरकै पक्षमा लागेर उनको मात्र सुरक्षा दिएको आफन्तहरुको प्रहरीमाथि आरोप छ । माहौल नियन्त्रणबाहिर जान नदिन कास्की प्रहरी अधिकारीहरु आफै अस्पतालमा खटिएका छन् । गण्डक न्युजबाट

कमेन्टहरु
Loading...