चितवन पटिहानीका साजन आले छैठौँ ‘बिग आइकन’

पोखरा, २५ फागुन /चितवन पटिहानीका साजन आले छैठौँ सँस्करणको बिग आइकन बनेका छन् । तीन जना फाईनलिस्ट सृष्टि गुरुङ, अनु गुरुङ र अम्बिका पुनलाई भोटले पछाडि पार्दै साजनले बिग आइकनको टाईटल जितेका हुन् ।

चितवन पटिहानीका साजन आले छैठौँ ‘बिग आइकन’
चितवन पटिहानीका साजन आले छैठौँ ‘बिग आइकन’

बिग आइकनको टाईटलसँगै साजनले १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र दुई हप्ते बेलायतको साँगीतिक यात्रा गर्ने अवसर प्राप्त गरेका छन् । खचाखच दर्शकमाझ मंगलबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा अभिनेत्री करिश्मा मानन्धरले साजनलाई विजेता घोषणा गरेकी थिईन् । साजनलाई नेपाल जनरल मार्केटिङ ज्योती ग्रुपकी प्रबन्ध निर्देशक सुरुची ज्योतीले हिरो ड्यास स्कुटरको साँचो हस्तान्तरण गरिन् । त्यस्तै केहि समयपछि साजन साँगीतिक यात्राका लागि काठमाण्डौ थापाथलीस्तिथ द ब्रिटिश कलेजको प्रायोजनमा बेलायत भ्रमणमा निस्कनेछन् ।

विजेता बनेसँगै साजनले आफुलाई भोट गरेर जिताउने सम्पूर्ण शुभचिन्तक र स्रोतालाई धन्यवाद दिए । विजेता बन्न आफ्नो लागि ठुलो उपलब्धि भएको बताउँदै बिग आइकन जस्तो ठुलो मञ्च प्रदान गर्ने बिग एफएम प्रति उनले श्रद्धा व्यक्त गरे । साथै नेपाली साँगीतिक क्षेत्र आफुले अझै धेरै गर्नु बाँकि रहेको भन्दै बिग आइकनको साख जोगाउन हरप्रकारको प्रयत्न आफुले गर्ने उनले उद्घोष गरे ।

स्थानियस्तरमा हुने विभिन्न साँगीतिक कार्यक्रममा गीत गाउँदै आएका साजनले गोरखाको एक जना फेसबुक साथीमार्फत बिग आइकनको बारेमा थाहा पाएका थिए । त्यसपश्चात उनी पोखरा आएर बिग आइकनको फाराम भरेका थिए । करिब साढे २ महिना चलेको बिग आइकनको अडिसनमा उनी पोखरा आएर आफन्तसँग बसेका थिए ।

त्यस्तै बिग आइकनको फस्ट रनरअप पोखरा मालेपाटनकी अनु गुरुङ बनिन् । टाईटलसँगै उनले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । अम्बिका पुन सेकेन्ड रनरअप भएर ५० हजार रुपैयाँ पुरस्कार हात पारिन् भने थर्ड रनरअप हुँदै सृजनाचोककी सृजना गुरुङले २५ हजार रुपैयाँ जितिन् । फाईनलमा पुगेका सम्पूर्ण प्रतिस्पर्धीले बिग आइकनको कारणले साँगीतिक क्षेत्रमा आफुहरुको छुट्टै पहिचान भएको भन्दै बिग एफएमलाई धन्यबाद दिए । साथै उनीहरुले फाईनलसम्म पुग्न सहयोग गर्ने स्रोता र निर्णायकहरुलाई पनि धन्यबाद दिए ।

यो पटकको बिग आइकनमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायक रहेका थिए । मंगलबार भएको छैठौँ बिग आइकनको ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतिस्पर्धीले पनि आफ्नो प्रस्तुती राखेका थिए । प्रतियोगीहरुले गीत प्रस्तुत गर्दै गर्दा यो पटक कोरसहरु स्टेजमा नाचेका थिए । सम्पूर्ण गीतमा राखिएका नृत्यलाई रोहन नेपाली ‘शिव’ले कोरियोग्राफि गरेका थिए ।

बिग आइकनको प्रमुख अतिथिको रुपमा कार्यक्रममा आएकी अभिनेत्री करिश्मा मानन्धरले साँगीतिक प्रतिभाहरुको लागि यति वृहत मञ्च खडा गरिदिएकोमा बिग एफएमलाई धन्यबाद दिईन् । मोफसलमा रहेको एउटा एफएमले राष्ट्रियस्तरमा प्रभाव राख्ने यस्तो खाले कार्यक्रम गर्नु निकै सुखद कुरा भएको उनले बताईन् । साथै उनले यस्तो खाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरिन् ।

कार्यक्रममा बोल्दै बिग एफएमका अध्यक्ष महेश भण्डारीले छैठौँ बिग आइकनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्रोता र सुभेच्छुकहरुलाई धन्यबाद दिए । ‘सबैको साथ र सहयोगले गर्दा नै बिग आइकनलाई हामीले निरन्तर छैठौँ सँस्करणसम्म ल्याउन सक्यौँ ।’ अध्यक्ष भण्डारीले भने–‘आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौँ ।’

कमेन्टहरु
Loading...