‘नेपथ्य’ कन्सर्टका बेला अबेरसम्म सार्वजनिक यातायात

पोखरा, फागुन १/शनिबार बेलुकी यहाँ आयोजना हुने ‘नेपथ्य’को कन्सर्ट सकिएपछि दर्शकलाई सुरक्षित घरसम्म पु¥याउने जिम्मेवारी पोखरा वस व्यावसायी संघले पुरा गर्ने भएको छ । ‘कुनै पनि पोखरावासीले त्यो कार्यक्रम हेरिसकेपछि घर फर्कनका निम्ति चिन्ता लिनुपर्दैन,’ संघका अध्यक्ष महाप्रसाद सुवेदीले भने, ‘एउटा मात्र दर्शक बाँकी रहुन्जेलसम्म पनि अबेर रातिसम्म हाम्रा बसहरु कार्यक्रमस्थलबाट चलिरहने छन् ।’

जहाज चढाएर २०२० सालमा पहिलोपटक मोटरगाडि प्रवेश गराएको पोखरा सार्वजनिक सवारीसाधनको हकमा भने मुलुककै अन्य नगरहरुभन्दा भाग्यमानी छ । यहाँको संघले सदैव आफूलाई सार्वजनिक हितमा समर्पित गर्दैआएको अध्यक्ष सुवेदी दावी गर्छन् । ‘यसअघि पोखरा महोत्सव र नयाँ वर्षको खुशीयाली साट्ने यात्रुहरुलाई ध्यानमा राखेर पनि राति दुई बजेसम्म बसहरु चलाउँदै आएका छौं,’ सुवेदीले थपे, ‘देस विदेसमा ख्याति कमाएको पोखराकै ‘नेपथ्य’ समूहको कन्सर्टका निम्ति हामीले त्यस्तै सेवा दिनलागेका हौं ।’

साँगीतिक समूह ‘नेपथ्य’का मुख्य गायक अमृत गुरुङ
साँगीतिक समूह ‘नेपथ्य’का मुख्य गायक अमृत गुरुङ

सुवेदीका अनुसार त्यसदिन कार्यक्रमस्थलबाट पोखराभर चल्ने सातवटै रुटका दर्शकलाई दिवाकालीन सेवाकै भाडादरमा यात्रा गराइनेछ । पोखराका सडकहरुमा यतिबेला २ सय ५१ वटा बसहरु कुदाउँदै आएको संघको इतिहास धेरै लामो भने होइन । पोखराको पुरानो सलाइ कारखानाका निम्ति आएको एउटा टिपरबाट सुरुभएको यहाँको सार्वजनिक यातायात कथा लम्बिँदै अहिलेको अवस्थासम्म आइपुगेको हो । कारखानाको काठ बोकेर फुर्सद पाएपछि त्यस टिपरले यहाँका सर्वसाधारणलाई पनि बोक्ने गरेको थियो ।
२०२९ सालमा भने यो परिस्थितीले अलिकती व्यावसायिक रुप पायो । अहिले पनि स्थानीयवासीले सम्झना गर्ने ‘९ नम्बर ढ्वाङ’ नामको पूर्णकालीन सार्वजनिक यातायात त्यतिखेर सहरमा दौडन सुरुगरेको थियो । जर्मनीबाट आएको मर्सिडिज गाडिले त्यो सेवा दिएको थियो । उक्त गाडिको नम्बरै ९ भएकाले त्यसलाई स्थानीयवासीले ‘नौ नम्बरको ढ्वाङ’ भनेर पुकार्थे ।

त्यसपछिको अझ परिमार्जित व्यावसायिक रुप भने २०३२ सालमा भित्रियो । त्यतिन्जेल ‘भूपू सैनिक ट्रान्सपोर्ट’का नामबाट उल्लेख्य संख्यामा गाडिहरु चल्न थालिसकेका थिए । त्यो कालखण्डमा भने लामो दुरीमा चलाएर तुलनात्मक रुपले अलिक पुराना भएका सवारीसाधन बढी देखिनेगरेको सुवेदी बताउँछन् । २०४९ साल असोजमा भने विधिवत रुपले पोखरा वस व्यावसायी संघ दर्ता भयो । संघले क्रमशः बसको स्तर पनि सुधार गर्दै लगेको थियो । ‘सदा सुन्दर शान्त पोखरा’को नारा उल्लेखित बसहरुमा सेतो र निलो रंगको लोगो नै राखेर सार्वजनिक यातायात चलाउने परम्परा पोखराबाहेक अन्त कतै थिएन ।

‘तर, त्यतिले मात्र हामी थामिएका छैनौं,’ सुवेदी भन्छन्, ‘२०६० सालदेखि लगातार फरक फरक कमिटि गठन गरेर सेवालाई परिमार्जन गर्दै लगेका छौं ।’ सुवेदीका अनुसार भर्खरै संघले आफ्नो लोगोलाई निलो र सेतोबाट परिवर्तन गरेर हरियो रंगमा परिवर्तन गरेको छ । त्यसैगरि ठूलो संख्यामा साना सवारीसाधन चलाउनुभन्दा पनि बढी यात्रु अट्ने सुविधाजनक बसको सेवा दिनेतर्फ संघ उन्मुख भएको छ । त्यसैका क्रममा अत्याधुनिक सेवासहितको २० वटा ठूला बसहरु ल्याइसकिएको सुवेदी बताउँछन् । अधिकांश भल्भो बस रहेका तिनमा इन्टरनेट, एयरकण्डिसनदेखि लिएर जीपीएस (ग्लोबल पोजसनिङ सिस्टम) समेत जडित रहेको सुवेदीको कथन छ । पछिल्लो समय भित्रिएका यी सबै बसहरुले ‘युरो ३’ मापदण्ड पुरा गरेका छन् ।

‘नेपालमा पोखराको स्थान जसरी ‘नेपथ्य’ले चिनाउन खोजेको छ,’ पोखरा बस व्यावसायी संघका अध्यक्ष सुवेदीले भने, ‘त्यसरी नै सार्वजनिक यातायात सेवाको अवस्था चित्तबुझ्दो बनाउन हामी पनि प्रयासरत छौं’ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबार आयोजना हुने ‘नेपथ्य’ कन्सर्टको साँझ ६० वटासम्म बसलाई अबेर रातसम्म चलाउने मनःस्थिती बनाएको सुवेदीले स्पष्ट पारे । यसैबीच ‘नेपथ्य’ कन्सर्टका निम्ति टिकट विक्रीसमेत सुरु भइसकेको जानकारी आयोजक नेपालयले दिएको छ ।

‘तीन दिनअगाडि अर्थात् बुधबार विहानदेखि टिकट विक्री सुरुभइसकेको छ,’ नेपालयका टोली प्रमुख किरणकृष्ण श्रेष्ठले भने, ‘नयाँ बजारस्थित प्रदर्शनी केन्द्रको गेटमा काउण्टर खुलिसकेको छ ।’ सन् २००० देखि २०१४सम्मै ‘शान्तिको लागि शिक्षा’ र ‘सुन्दर शान्त नेपाल’ गरेर दुईवटा अभियानमा ‘नेपथ्य’ले आफुलाई पटक पटक मुलुकभर प्रस्तुत गर्दै आएको छ । पोखराको प्रस्तुती पनि त्यसैको निरन्तरता हो । आफ्नो उद्गमस्थलमा ‘नेपथ्य’ले पहिलोपटक यसपाला खुलाआकाश मुनि ‘ओपन कन्सर्ट’ प्रस्तुत गर्न लागेको हो ।

कमेन्टहरु
Loading...