ओझेलमा परेको मौलिक लोक संस्कृतीको प्रवद्र्धन गर्दै पोखरा महोत्सव

पोखरा, १ माघ​ /पोखराको अमरसिंह चौरमा जारी नवौ संस्करणको पोखरा महोत्सवले गण्डकी प्रदेशमा लुकेर रहेका मौलिक लोक संस्कृतीलाई प्रवद्र्धन गर्न तर्फ लागेको छ । महोत्सवले प्रत्येक दिन गण्डकी प्रदेश भित्र लुकेर रहेका लोक संस्कृतीलाई आफ्नो स्टेज दिएर सांस्कृतिक कार्यक्रमलाई दर्शक समक्ष प्रत्यक्ष प्रस्तुत गरेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले गण्डकी प्रदेशमा चर्चित मगर जातिको कौरा, सोरठी, थाली नाच, गुरुङ जातिको घाटु र रोधी, नेवार जातिको तयामचाः लाखे, धिमे, ट्याकटुके, थारु समुदायको लाठी र घैला नाच, ब्राह्मण समुदायको बालन भजन जस्ता मौलिक संस्कृति अंगालेका झांकी तथा र्यालीहरुलाई आफ्नो स्टेज मार्फत दर्शकलाई मौलिक संस्कृतीको बारेमा जान्ने मौका प्रदान गरेको हो ।

महोत्सव सांस्कृतीक उपसमिती संयोजक राजु श्रेष्ठका अनुसार महोत्सवमा रमाइलो गर्न, खान, नाच्न मात्र नभइ समग्र गण्डकी प्रदेशको मौलिक लोक संस्कृतीको बारेमा जान्ने थलो पनि हुनुपर्दछ भन्ने उद्देश्यले यो पटकदेखी मौलिक लोक संस्कृतीहरुलाई प्रत्यक्ष रुपमा दर्शकसामु प्रस्तुत गरिएको हो । श्रेष्ठका अनुसार महोत्सवमा सोमबार मात्रै तत्कालिन धौलागिरी अञ्चलमा बसोबास गर्ने पुन मगरहरुको मौलिक लोक संस्कृती बोकेको पुख्यौली नाच प्रत्यक्ष प्रस्तुत गरी पुन जातिको पुख्र्यौली संस्कृतीको बारेमा जानकारी दिइएको थियो । यसरी महोत्सवको स्टेज मार्फत मौलिक लोक संस्कृतीको बारेमा दर्शकसामु प्रत्यक्ष प्रस्तुतीकरण राख्दा एक समुदायका मानिसले अर्को समुदायको संस्कृतीको बारेमा समेत जान्ने अवसर प्राप्त हुने महोत्सव मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङको भनाइ छ ।

महोत्सवको चौथो दिन सम्म आइपुग्दा पार्वती गुफा भजन किर्तन समुह पर्वतको वालन, घांसीकुवा युवा क्लव तनहुको मौलिक कौराहा, सल्यान खनडाडा ताउँ घडेरी तमु समाजको रोधी, रामबजार पुन समाजको पुख्यौली नाचको प्रत्यक्ष प्रस्तुतीकरण गरिसकिएको छभने महोत्सव अवधिभर झिं सिर्जनशील नेवा समाज दुलेगौडा तनहुको धिमे र ट्याकटुके नाच, पोँचोको तमु समाजको सोरठी नृत्य, लाली गुराँस पुन मगर समाज लामाचौरको थाली नाच, कमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको लाठी र घैला नाच, ज्यामिरे आमा बावु समुह स्याङजाको घाटु नृत्य, धर्मोदय दश अवतार वालन समुह पाल्पाको वालन नाच र नेपाल मगर महिला संघ कास्कीको कौराहा नृत्य प्रत्यक्ष प्रदर्शन गरिने छ ।

महोत्सवमा सोमबार तरेली सांस्कृतीक परिवारको विभिन्न मौलिक संस्कृती झल्कने नृत्यहरुबाट कार्यक्रम शुरु भएको थियोभने दिउसो चर्चित लोकदोहोरी गायक वद्री पंगेनीको प्रस्तुतीले महोत्सवको माहोल तातेको थियो । पंगेनी संगै जीवन दाहाल, रामजी पौडेल, पार्वती जिसी, सविना गुरुङ, मीना श्रीष, निश्चल दवाडीको दोहोरी प्रस्तुती रहेको थियोभने हास्यब्यङ्ग्य तर्फ पाँडे र जिग्रीको पस्तुती रहेको थियो । सोमबार सम्पन्न पर्वत र तनहु बीचको दोहोरी घम्साघम्सीमा तनहुलाई पाखा लगाउदै पर्वत अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । सांझको लाइभ कन्सर्टमा मंकी टेम्पल र प्रश्नको प्रस्तुतीमा युवाहरु रमाएका थिए ।

महोत्सवमा मंगलवार कोमल वली, प्रजापति पराजुली, जीवन दाहाल, कुमार पुन, जय कुमार परियार, शिवहरी ढुंगाना, मीना श्रीष मगर, निशा पोख्रेल, बिकास नेपाली र वाल कलाकार समिक्षा अधिकारीलाई सम्मान गर्ने कार्यक्रम रहेको छभने सांझ लाइभ कन्सर्टमा द एक्स ब्याण्ड र लोकल प्रोभर्स ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक शान्त थापाले जानकारी दिए । मंगलवार गण्डकी प्रदेश स्तरिय दोहोरी प्रतियोगितामा बाग्लुङ र गोर्खा बीच हुने छ ।

कमेन्टहरु
Loading...