पोखरामा चैत अन्तिम साता मुक्तक महोत्सव हुने

पोखरा, २३ फागुन /पोखरामा चैतको अन्तिम साता मुक्तक महोत्सव २०७४ हुने भएको छ । मुक्तक मञ्च पोखराको आयोजनामा हुने महोत्सव ३ दिनसम्म चल्ने अध्यक्ष प्राञ्जलले जानकारी दिनुभयो ।

चैत २२, २३ र २४ गते हुने महोत्सवमा विशेष मुक्तक गोष्ठी, मुक्तक मञ्च पोखराद्वारा प्रकाशित ८ ओटा मुक्तक कृतिहरुमाथि समीक्षात्मक कार्यव्रmम, मुक्तकका पुस्तक प्रदर्शनी, मुक्तककै विषयमा विद्यावारिधि, शोध तथा अध्ययन गर्नुभएका विद्वान्हरुको सहभागितामा मुक्तकको सैद्धान्तिक बहस, राष्ट्रिय मुक्तक पुरस्कार हस्तान्तरण, मुक्तक सङ्ग्रहको लोकार्पणसँगै टिकटमा मुक्तक वाचनलगायतका कार्यक्रम गरिने भएको छ ।

नेपाली मुक्तकको सैद्धान्तिक अन्यौल हटाई अझै स्पष्ट रुपरेखा तयार गर्ने, पोखरामा विभिन्न स्थानका साहित्यकारहरुलाई भित्र्याई पर्यटन साहित्यको अवधारणालाई अघि बढाउने, अग्रज मुक्तककारलाई सम्मान र नवप्रवेशीलाई प्रोत्साहन प्रदान गर्नेलगायतका उद्देश्यले महोत्सव आयोजना गरिएको प्राञ्जलको भनाइ छ ।

महोत्सवलाई व्यवस्थित गर्नका लागि मुक्तककारहरुको भेलाले मञ्चका अध्यक्ष प्राञ्जलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिको सह–संयोजक राम क्षेत्री, सचिव रामजीप्रसाद आचार्य, सदस्यहरुमा रुपिन्द्र प्रभावी, गौरी तमु, सन्जीव पौडेल, कृष्ण देवकोटा, भरतराज पौडेल र रोशन तल्कोटे रहनुभएको छ ।

यस्तै, महोत्सवलाई सफल बनाउका लागि गौरी तमुको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । उपसमितिका सदस्यहरुमा विष्णु अल्पविराम, सरला लामिछाने ‘सरु’, विपिन आचार्य र लक्ष्मण तिमिल्सिना रहनुभएको छ । यस्तै, रुपिन्द्र प्रभावीको संयोजकत्वमा मन क्षेत्री, असफल गौतम, भीम तिमिल्सिना र फडिन्द्र अकिञ्चन रहेको प्रचार–प्रसार उपसमिति, सन्जीव पौडेलको संयोजकत्वमा लक्ष्मण थापा, दीपक समीप, डा. वसन्त गौतम र सुशील जी. सी. रहेको अतिथि सत्कार उपसमिति र रोशन तल्कोटेको संयोजकत्वमा के.आर. ढकाल, अनिता दाहाल, आरती कँुवर र भरत पोखरेल रहेको मायाको चिनो तथा टिकट व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यसै गरी, भरतराज पौडेलको संयोजकत्वमा परिवर्तन, देवी त्रिपाठी, युवराज पराजुली, सविता सापकोटा र श्रीराम अधिकारी सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति, कृष्ण देवकोटाको संयोजकत्वमा सरला लामिछाने ’सरु’, दीपक समीप, सन्जीव पौडेल र मञ्चका अध्यक्ष प्राञ्जल सदस्य रहेको स्रष्टा छनोट उपसमिति गठन गरिएको छ ।

पोखराबाट मुक्तकको विधागत विकासका लागि २०६५ सालदेखि क्रियाशील मञ्चले नियमित रुपमा हरेक महिनाको अन्तिम शनिबार मुक्तक वाचन कार्यक्रम गर्दै आएको छ भने मुक्तक सङ्ग्रह प्रकाशन र छलफलका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । मुक्तक महोत्सव भने यो नै पहिलो हो ।

कमेन्टहरु
Loading...