पोखरामा लिटेचर फेस्टिभल जारी, सहित्यमा रम्दै पोखरा

पोखरा, १५ माघ /नेपाल लिटेचर फेस्टिभल २०१७ (नेपाल साहित्य महोत्सव २०७३)को तेस्रो दिन पनि १२ वटा सत्रमा भएका विविध विषयमा छलफल र प्रस्तुतिलाई भएका छन् । फेवा किनारको नेपाल पर्यटन बोर्डको चौरमा रहेको पहिलो सत्रमा “शासकको जवाफदेहिता” माथि पत्रकारद्वय शिव गाउँले र हरिबहादुर थापा तथा अधिवक्ता ओमप्रकाश अर्यालको छलफल चल्यो । चिकित्सक, लेखक तथा अभियन्ता रामेश कोइरालाले प्रस्तुत गर्नुभएको उक्त सत्रमा राज्यले जनताप्रति दर्शाउनु पर्ने जिम्मेवारीबोधमाथि गहन विमर्श भयो ।

उता हलको पहिलो सत्र “के भन्छ पोखरा?” मा कविहरु इश्वरमणि अधिकारी र सरस्वती प्रतीक्षा सरु तथा गायक विनोद बानियाँले पोखराको साहित्यिक र सिर्जनात्मक अपेक्षाबारे आफ्ना विचार राखे । सो सत्रको संयोजन ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए ।

त्यसपछि चौरमा भएको सत्रमा पत्रकार बसन्त बस्नेतले साहित्यकार वैरागी काइँला र कवि भूपाल राईसँग साहित्यमा मुन्धुमको प्रयोग र यसको सौन्दर्यबारे चर्चा गरे । हलमा त्यति नै बेला भएको सत्रमा “मिस मोटी” कमिक्स पात्रको सिर्जना गरेर अन्तराष्ट्रिय ख्याति कमाउनुभएकी कृपा जोशीले रोचक प्रस्तुति मार्फत महिला शरीरप्रतिको दृष्टिकोण र यसलाई सकारात्मकतातर्फ लैजाने उपायहरुबारे बताए । उक्त सत्रको संयोजन अभियन्ता शुभा कायस्थको रह्यो ।

चौरको तेस्रो सत्रमा लेखकत्रय रामलाल जोशी, सावित्री गौतम र शिवानी सिंह थारुले नेपाली साहित्यमा महिला पात्रको उपस्थिति र चित्रणबारे उत्साहित चर्चा गरे । अभियन्ता र चौकठ समूहकी संस्थापक सदस्य प्रणिका कोयूले संयोजन रहेको सत्रमा शसक्त महिला पात्रहरुको खोजी र भविष्यको अपेक्षा गरियो । यसपछिको सत्रमा प्रखर नेता घनश्याम भुसाल र राजनैतिक विश्लेषक हरि शर्माले“पपुलिजम पोलिटिक्स” अर्थात क्षणिक चर्चाका लागि लिइने राजनैतिक कदमहरुबारे शक्तिशाली विमर्श चल्यो । सो सत्रको संयोजक सम्पादक किरण नेपाल थिए । हलमा भएको सत्रमा भने उद्यमी लक्ष्मी शर्माको व्यावसायिक अनुभवबारे रोचक प्रसङ्गहरु पत्रकार दिपेन्द्र श्रेष्ठलाई बताए ।

नेपालको आर्थिक इतिहासबारे महत्वपूर्ण बुँदाहरुको व्याख्या गर्दै अर्थविद् विश्व पौडेलले विगतका आरोह अवरोह छर्लङ्ग पारिदिनुभयो । चौरमा भएको उक्त सत्रको संयोजन अर्थविद् स्वर्णिम वाग्लेले गरेका थिए । हलमा अन्तिम सत्रका रुपमा भने साहित्यकार उदय प्रकाशले “साहित्य र प्रतिरोध” बारे आफ्ना विचार राख्दै साहित्यले परिवर्तनमा खेल्न सक्ने भूमिका बारे बताए ।

चौरको अर्को सत्र “वाह ! गजल” हेर्नका लागि दर्शकको भीड उर्लिएर आयो । पत्रकार तथा गजलकार अमृत सुवेदीले संयोजन गरेका थिए । उक्त सत्रमा पोखरा र बाहिराका गजलकारहरुले आफ्ना रचना वाचन गरेर वाहवाही कमाए । अन्तिम सत्र सांगितिक यात्रामा संचारकर्मी समृद्धि राईले संगीतकार तथा पोखरेली युवा गायक प्रयत्न श्रेष्ठको सांगितिक कुराकानी सँगसँगै नेपाल साहित्यमा सबै रमाए ।

कमेन्टहरु
Loading...