शेरचनको जन्मजयन्तीमा मादल प्रतियागिता, प्रथमलाई ५० हजार पुरस्कार

पोखरा, ३१ असार/नेपाली लोक स्रष्टा, साधक, तथा शिल्पी स्वर्गीय कल्याण शेरचनको ७१ औं जन्मजयन्तीको अवसरमा साउन १२ गते नेपाल मै पहिलो पटक राष्ट्रिय खुल्ला मादल बादन प्रतियोगिता २०७४ हुने भएको छ । स्वर्गीय शेरचनको स्मृतिमा लोक सँस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्धेश्यले साँस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठान द्धारा काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा प्रतियोगिता आयोजना गरिएको कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा पोखरामा शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

राष्ट्रिय खुल्ला मादल बादन प्रतियोगिताको विजेताले ५० हजार, द्धितियले २५ हजार, तृतियले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुने प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले जानकारी दिनुभयो । यसरी नै प्रतियोगितामा विधागत उत्कृष्ठ मौलिकता, सिर्जनात्मक, र लोपोन्मुख पौराणिकतालाई जनही ५ हजार नगदसहित मेडल र प्रमाणपत्रबाट पुरष्कृत गरिने भएको छ ।

लोक बाजा मादलको चार शैलीहरु पौराणीक बाद्य शैली(चर्या, सोरठी, पौसारु, सरङ्ङया, सालैजो, टप्पा, कौडा, मारुनी, हुर्रा), मञ्चीय प्रस्तुती बाद्यशैली(दमदार तथा रोचक प्रस्तुती), स्टुडियो रेकर्डिङ्ग बाद्यशैली(सुर, ताल, लय आदि मिसाएर बजाउने) र श्रृजनात्मक बाद्यशैली(आफ्नो छुट्टै श्रृजनात्मक शैलीमा बजाउने) मा प्रतियोगीहरुले १० मिनेट प्रस्तुति राख्न पाउने नियम रहेको प्रतिष्ठानका सचिव सचिव श्रीजङ्ग गुरुङले बताउनुभयो ।

नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय खुल्ला मादल प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीहरुले साउन ७ गते भित्र प्रतियोगिता संयोजक खर्कबहादुर बुढा(काठमाडौं), सहसंयोजक इश्वरी प्रसाद भुषाल(काठमाडौं) र पश्चिमाञ्चल पोखरा क्षेत्रका लागि प्रतिष्ठानका कार्यसमिति सदस्य, दोहोरी गीत राष्ट्रिय प्रतिष्ठानका केन्द्रीय सदस्य जीवन दाहाल(पोखरा)लाई सम्पर्क गर्न सकिने बताइएको छ । पश्चिमाञ्चल पोखरा क्षेत्रका प्रतियोगिताहरुको संख्या अनुसार पोखरामा अडिशन समेत गरिने जीवन दाहालले बताउनुभयो ।

प्रतियोगिताका लागि जुरी निर्णायक खर्कबहादुर बुढा, यसरी नै निर्णायकहरुमा पश्चिम नेपाल प्रेमदेव गिरी, मध्य नेपाल न्युछेमान डंगोल र पुर्व नेपालका तर्फबाट अर्जुन चैनपुरे रहनुभएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो भने प्रतियोगिताको करिब ८० प्रतिशत तयारी सम्पन्न भएको आयोजकले जनाएको छ । स्वर्गीय शेरचनको ७१ औं जन्मजयन्ती साउन १२ गते काठमाण्डौं जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगिताकै अवसरमा एक जना नेपालका वरिष्ठ मादल बादकलाई नगद, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने अध्यक्ष क्या.ह्योल्मोले बताउनुभयो ।

यसैविच उक्त प्रतियोगिताको सहयोगार्थ रामबजार सोसाइटी युकेले सहयोग गरेको छ । घरबिदामा पोखरा आउनु भएका सोसाइटीका सल्लाहकार दुधराज गुरुङले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै प्रतिष्ठानका अध्यक्ष क्याप्टेन ह्योल्मोलाई १ लाख ५० हजार २३३ रुपैया सहयोग हस्तान्तरण गर्नुभयो । स्रष्टाको स्वर्गारोहण पश्चात हिमाली साँस्कृतिक परिवारले विक्रम सम्वत २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौरा चुट्का गीतको प्रतियोगिता आयोजना गरी अक्षयकोष स्थापनाका साथै कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना गरेको हो । प्रतिष्ठानले उक्त वर्षदेखि नै साउन १२ गते स्वर्गीय शेरचनको जन्मजयन्ती र माघ २४ गते स्मृति दिवस विविध कार्यक्रम गरी मनाउदै आएको छ ।

सँस्कृति, शिक्षा र खेलकुदप्रति योगदान पुर्याउनु भएका स्वर्गीय शेरचनको स्मृतिमा हालसम्म बरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक डम्बरसिंह गुरुङ, शिक्षाविद बलबीरसिंह नेगी, बरिष्ठ संगीतकार प्रकाश गुरुङ सम्मानित भइसक्नु भएको छ । प्रतिष्ठानले शेरचनकै स्मृतिमा पश्चिमाञ्चलस्तरीय साँस्कृतिक कार्यक्रम, भुकम्पपीडित विद्यालयको पुननिर्माण र सेभेन ए साइड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

कमेन्टहरु
Loading...