धर्मराजको गाउँमा भाषाविद् चुडामणि बन्धुको सम्मान हुने

पोखरा, १२ फागुन /नेपाली लोक साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका जनकविकेशरी स्व.धर्मराज थापाको जन्मस्थल बाटुलेचौरमा भाषाविद् डा.चुडामणि बन्धुको सम्मान हुने भएको छ ।

थापा सहित स्व.झलकमान गन्धर्व, स्व.कवि कुलबहादुर केसी जस्ता व्यक्तित्व जन्माएको बाटुलैचौरमा शुक्ला साहित्य प्रतिष्ठानले नेपाली भाषाको समुन्नतिमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै शुक्ला साहित्य राष्ट्रिय पुरस्कार – २०७४ बाट बन्धुको सम्मान गर्न लागेको हो ।

प्रतिष्ठानका अध्यक्ष कुलबहादुर खत्रीका अनुसार आगामी चैत ३ गते शनिबार प्रदान गरिने उक्त पुरस्कारको राशी २० हजार १०१ रुपैयाँ नगद सहित सम्मानपत्र रहेको छ ।

वि.सं.२०४५ सालमा स्थापित यो संस्थाले २०५७ सालदेखि प्रत्येक दुई/दुई वर्षमा यस पुरस्कारबाट भाषा, साहित्य लगायतका विभिन्न क्षेत्रबाट राष्ट्रका लागि उल्लेख्य योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको प्रतिष्ठनका सचिव हरि बरुवाले जानकारी दिनुभयो ।

प्रतिष्ठानका सञ्चार संयोजक कृष्ण अञ्जान(ज्ञवाली)का अनुसार उक्त पुरस्कार एवम् सम्मान २०५७ सालमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी), २०५९ मा डा. रविलाल अधिकारी, २०६१ मा सरुभक्त श्रेष्ठ, २०६३ मा दुर्गा बराल(वात्स्यायन), २०६५ मा मनु ब्रजाकी, २०६७ मा जीवन शर्मा, २०६९ मा हरिदेवी कोइराला, र २०७१ मा डा.तीर्थराज सुवेदी(हंसपुरे सुवेदी)ले प्राप्त गरिसक्नुभएको छ

कमेन्टहरु
Loading...