देशभक्तको हाइकु ‘अमृतप्रेम’ लोकार्पण

पोखरा, २ चैत

‘नेपाल छोडी
अरु देशमा जान्न
यही बस्छु म’

बहुआयामिक प्रतिभाका धनी देशभक्तसिंह कुँवरको एकघण्टामै लेखिएको हाइकुसंग्रह ‘अमृतप्रेम’ लोकार्पण भएको छ । साढे तीन महिनामै लगातार ३ कृति सार्वजनिक गरेका कुँवर यसपालि भने फरक परिचयसहित साहित्यिक फाँटमा देखा परेका हुन् ।

गायक, संगीतकार तथा साहित्यकार कुँवरको हाइकुसंग्रह ‘अमृतप्रेम’ बिहीबार पोखरामा आयोजित समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले लोकार्पण गरे । मेयर जिसीले कुँवरको प्रतिभाको कदर गर्दै कुँवरको साहित्यिक लेखनीमा हातहरु नथाकून् भनी शुभकामना दिए ।

प्राडा यामबहादुर पौडेल क्षेत्रीले स्रष्टा कुँवरलाई विविध क्षेत्रबाट अब केन्द्रिकृत हुन सुझाव दिए । सम्पदा कला मन्दिर नेपालको आयोजनामा भएको उक्त समारोहमा संस्थाका संरक्षक साहित्यकार एवं शिक्षासेवी क्षेत्रबहादुर कुँवरले साहित्यिक लेखन अन्य विधाभन्दा जटिल रहेको उल्लेख गरे । स्रष्टाका पिता उनले देशभक्तमा सानैदेखि साहित्य र कलाक्षेत्रमा अभिरुची रहेको जानकारी दिए ।

स्रष्टा कुँवरको गत मंसिर १६ मा गजलसंग्रह ‘लभ स्टेशन’ र डेढ घण्टामै लेखिएको मुक्तकसंग्रह सेतो संसार गत माघ २७ मा विमोचन भएको थियो । पोखरा वाङ्मय प्रतिष्ठान प्रकाशक रहेको ‘अमृतप्रेम’ मा १ सय ४४ वटा हाइकू छन् ।

स्रष्टा कुँवरले गत पुस १२ मा साँझ ६ देखि ७ बजेसम्म एकै बसाइँमा लेखिएका हाइकुलाई पुस्तकको रुप दिएको बताए । उनले सृष्टिमा न अमृतको न प्रेमको जन्म भयो भन्दै केवल एकैप्राणमा अमृतप्रेम आएको बताए । उनले साहित्यिक क्षेत्रमा समेत निकै राजनीतिक हुने भन्दै गुनासोसमेत पोखे । एल्बमसहित कृतिका हिसाबले कुँवरका २८ कृति बजारमा छन् ।

कार्यक्रममा स्वागत संचारकर्मी अम्बिका राणा र संचालन संचारकर्मी तिर्सनालक्ष्मी गुरुङले गरेकी थिइन् । यस्तै, स्रष्टा परिचय गीतकार राजेन्द्र अधिकारी ‘अपूर्णा’ र स्रष्टाका विगतका कृतिबारे जानकारी संचारकर्मी अञ्जना राणाले गराएकी थिइन् । गायक सागर शाहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा पोखरा लेखनाथ महानगरपालिका वडा ४ वडाध्यक्ष शंकरप्रसाद बास्तोला, ९ का रामराज लामिछाने र ११ का मोहनप्रसाद बास्तोलासहित, साहित्यिक व्यक्तित्व एवं विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

मेघा एफएमका प्रबन्ध निर्देशक स्रष्टा कुँवर सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया र कुँवर राणा गार्डेन सोसाइटीमा हाल अध्यक्ष छन् । २०४८ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गायन प्रस्तुतसँगै सांगीतिक तथा साहित्यिक क्षेत्रमा हात हालेका कुँवरले नायक, गायक, संगीतकार, गीतकार, निर्देशक र साहित्यकारको परिचय बनाएका छन् ।

कमेन्टहरु
Loading...