सातौँ सँस्करणको बिग आइकनको ग्राण्ड फिनालेमा ३ जना

पोखरा, ४ फागुन /सातौँ सँस्करणको बिग आइकन फाइनल राउण्डमा प्रवेश गरेको छ । उत्कृष्ट ४ प्रतिस्पर्धीमध्येबाट विहिबार लेखनाथकी सौजन्या तामाङ बाहिरिएपछि प्रतियोगिताले ‘ग्राण्ड फिनाले’ राउण्डमा प्रवेश पाएको हो ।

यो पटक बिग आइकनको ग्राण्ड फिनालेमा चितवट पटिहानीका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी प्रिया गुरुङ भिड्दैछन् । सातौँ सँस्करणको बिग आइकनको ‘ग्राण्ड फिनाले’को विशेष कार्यक्रम आगामी चैत १८ गते शुक्रबार पोखरा सभागृहमा हुने एफएमले जनाएको छ ।

५४ जिल्लाका ११ सय ५२ प्रतिस्पर्धीमध्येबाट छानिएर तीन जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा आएका हुन् । करिब २ महिनाको अन्तरालमा भएको २२ भन्दा बढि विभिन्न राउण्ड पार गरेपछि मात्रै उनीहरु यहाँसम्म आइपुगेका हुन् । तीनै जना प्रतिस्पर्धीले ग्राण्ड फिनाले राउण्डका लागि विहिबारै आ–आफ्नो प्रस्तुती दिए । विहिबार भएको ग्राण्ड फिनाले राउण्डमा प्रतिस्पर्धीहरुले २÷२ वटा गीत गाएका थिए ।

विहिबार बाहिरिएकी लेखनाथकी सौजन्या १७ वर्षकी थिइन् । बिग आइकनका अघिल्ला सँस्करणमा समेत सहभागिता जनाईसकेकी सौजन्या बाहिरिने क्रममा निकै भावुक बनिन् । ‘मैले संगीतसम्बन्धि कुनै प्रशिक्षण लिएको थिईन । यद्यपी यो मञ्च नै संगीत अध्ययनको लागि मेरो लागि ठुलो विश्वविद्यालय साबित भयो ।’ सौजन्याले भनिन्–‘म दुखी छैन । बरु मलाई मेरो करिअरको ठुलो चिन्ता छ । अबको दिनमा म साँगीतिक करिअर निर्माणमा म तल्लिन हुनेछु ।’ बाहिरिने क्रममा उनले फाइनल प्रवेश पाएका ३ जना प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिए ।

विहिबार नै बिग आइकन सातौँ सँस्करणको निर्णायकहरुले पनि फाइनलिस्टलाई शुभकामना दिए । फाइनलिस्ट चयन गर्नका लागि निकै मेहेनत र विवेकका साथ आफुहरुले निर्णय लिएको बताउँदै उनीहरुले ३ जनै प्रतिस्पर्धी विजेताका दाबेदार भएको बताए । यो पटकको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका थिए ।

प्रतियोगिताको सम्पूर्ण राउण्ड सकिएपछि बिग आइकन ग्राण्ड फिनालेको तयारीमा जुटेको छ । आगामी चैत १८ गते हुने ग्राण्ड फिनाले कार्यक्रम भव्य हुने एफएमले जनाएको छ । १८ गतेको सो कार्यक्रममा फाइनलिस्टसँगै उत्कृष्ट १० मा परेका सम्पूर्ण प्रतिस्पर्धीले प्रस्तुती दिनेछन् ।

फाइनलिस्ट छनौटका लागि विहिबार भएको राउण्डमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष तथा अन्नपूर्ण एफएमका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठको विशेष उपस्थिती रह्यो । उनले बिग आइकनले सातौँ वर्षसम्म निरन्तरता पाएर गायन रियालिटि शोहरुको माझमा एउटा ईतिहास रचेको बताए । ‘एउटा नीजि क्षेत्रको लगानीमा संचालित रेडियोले यो खाले कार्यक्रम गर्नु निकै चुनौतीपुर्ण छ । यद्यपी बिग एफएमले यसलाई सफलतापुर्वक गर्दै आएको छ । यो सम्पूर्ण रेडियोकर्मीको लागि गर्वको कुरा हो ।’

साथै उनले फाइनलिस्टलाई सफलताको शुभकामना समेत दिए । ‘फाइनल प्रवेश पाएका तीनै जनालाई शुभकामना । यद्यपी यो कार्यक्रममा बाहिरिएका प्रतिस्पर्धीले पनि हार मान्नु भने हुँदैन ।’ उनले भने–‘प्रतियोगितामा हार स्विकार्न सक्नु पनि जित नै हो । यसले जित्नका लागि अगाडि थुपै्र यस्ता मैदानहरु छन् भन्ने कुराको बोध गराउँछ ।’

बिग आइकनको ग्राण्ड फिनालेबाट सर्वोत्कृष्ट एक जनालाई छनौट गर्न अब पूर्ण रुपमा एसएमएस भोटको भर रहने एफएमले जनाएको छ । भोटिङको आधारमा सातौँ सँस्करणको बिग आइकन छनौट हुनेछन् । जसअनुसार फाइनलमा प्रवेश पाएका सागर आलेलाई भोट गर्न BIG space SA, सुबास गुरुङलाई भोट गर्न BIG space SG र प्रिया गुरुङलाई भोट गर्न BIG space PG टाइप गरि ३४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।

कमेन्टहरु
Loading...