साना उद्योगको क्षमता बढाउन सुविधा र संरक्षण दिनुपर्ने व्यवसायीहरुको माग

पोखरा, १५ वैशाख । घरेलु तथा साना उद्योहरुलाई राज्यले विशेष सुविधा र संरक्षण दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले राज्यले साना र घरेलु उद्योगहरुको प्रतिष्पर्धी क्षमता बढाउन, तालीम र अनुदानको व्यवस्थाको माग पनि गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा आइतबार पोखरामा आयोजित लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले आफूहरुले राज्यबाट खासै सुविधा नपाएको गुनासो पनि गरेका छन्

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतले देशमा भएको रोजगारीमा घरलु तथा साना उद्योगको ८५ प्रतिशत योगदान रहेको बताउँदै ती उद्योगहरुलाई बचाउनु राज्यको कर्तव्य भएको बताए । उनले साना उद्योग चलाउनेहरुको राज्यसम्मको पहुँच कम भएकोले पनि उनीहरु अनुदान र अन्य सहयोग लिन पछि परेको दावी गरे । साना उद्योगहरुका उत्पादनहरुमा प्याकेजिङ र बजारीकरणको समस्या भएको उल्लेख गर्दै उनले ठूला उद्योगहरुको कर्तव्य साना उद्योगहरुलाई बचाउनु पनि रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले राष्ट्रिय पहिचानका सामाग्री उत्पादन गर्ने लघु तथा साना उद्योगहरुलाई राज्यले नै संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेश सरकारले लघु, साना तथा घरेलु उद्योगको विकासको लागि ३ करोड बजेटको व्यवस्था गरेकोमा धन्यवाद ज्ञापन गर्दै युवा उद्यमशीलता कोषमार्फत दिइने सो अनुदानको उपयोग गर्न उद्योगीहरुलाई आग्रह पनि गरे ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले हरेक व्यवसाय सुरु गर्दा बजारको अध्ययन गर्ने परम्पराको विकास गर्नुपर्नेमा जोड दिए । साना र घरेलु उद्योगहरुले राष्ट्रिय अर्थतन्त्रमा दिएको योगदानको कदर गर्दै ती उद्योगहको संरक्षणमा विशेष कार्यक्रम संचालन गर्न उनले सरकारसँग माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक हंशराम पाण्डेयले लघु, घरेलु तथा साना उद्योगहरुको अवस्था,उद्योग प्रवद्र्धनमा समस्या र चुनौतिहरु विषयक कार्यपत्र पेश गर्दै परम्परागत सीपबाट संचालन हुँदै आएका उद्योगहरु,कृषि तथा वन पैदावार,चिया, कफी, फलफूल र तरकारी,जडिबुटी,होटल,रेष्टुरेण्ट,गार्मेण्ट र हस्तकलामा आधारित भएर साना उद्योगह संचालन गर्न सकिने बताए । उनले नयाँ सोचको कमी, जोखिम बहन क्षमता कम हुनु तथा पूर्वाधारको कमी र बजारको आवश्यकता ठम्याउन नसक्दा घरेलु तथा साना उद्योगहरुले गति लिन नसकेको जिकिर पनि गरे । उनले परम्परागत तथा घरेलु उद्योगहरुको आयकरमा ५० प्रतिशत छुट भएकोले स्वरोजगार चाहनेहरुले यो क्षेत्रमा काम गर्नुपर्नेमा पनि जोड दिए । गण्डकी प्रदेशमा १ लाख ६ सय ८८ वटा उद्योगहरु संचालनमा रहेको बताउँदै उनले ती उद्योगहरुमा ३ लाख ४१ हजार ८ सय १८ जनाले रोजगारी पाएको जनाए ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले साना उद्योगीहरुलाई दक्ष बनाउन तालीम केन्द्रको स्थापना गर्नुपर्ने, लघु तथा घरेलु उद्योगबाट उत्पादित सामानहरुको बिक्री र प्रदर्शनीको लागि छुट्टै बिक्री केन्द्रको स्थापना गरिनुपर्ने,सरकारी कार्यालयहरुले नेपालकै घरेलु र साना उद्योगबाट उत्पादित सामान प्रयोग गर्नुपर्ने,व्यवसायीको पहुँच हैन कि उसको कारोवार हेरेर ऋण तथा अनुदान दिइनु पर्नेलगायतका माग गरेका थिए । कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय कास्कीका उद्योग अधिकृत महराज ढकालले जनशक्तिको अभावमा आफ्नो कार्यालयले सोचेजस्तो काम गर्न नसकेको बताए । उनले उद्योगको क्षमता बढाउन घरेलुमार्फत दिइने अनुदानको उपयोग गर्न व्यवसायीहरुलाई आग्रह पनि गरे ।

कमेन्टहरु
Loading...