होटल संघको डे हाइक पामे देखि विश्वशान्ति स्तुपमा

पोखरा, ३० वैशाख /पश्चिमाञ्चल होटल संघ पोखराले शनिबार एक दिने पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । डे हाइक नाम दिएर कास्कीको फेवा ताल शिरान स्थित पामेबाट सुरु भएको यात्रा चापाकोट, भुम्दिकोट, विश्वशान्ति स्तुपा हुँदै पोखरा पुगेर टुंगिएको थियो ।

स्वस्थ जीवनका लागि हाइकिङ नारासहित नेपाल पर्यटन बोर्डसँग मिलेर संघले उक्त कार्यक्रम आयोजना गरेको संघका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक भरतराज पराजुलीले जानकारी दिए । कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा बोर्डका अधिकारीहरुको सहभागिता रहेको थियो ।

संघका अध्यक्ष विकल तुलाचनले पोखरा वरपर थुप्रै डाँडाकाँडा र संभावना बोकेका हाइकिङ ट्रेलहरु रहेको भन्दै तिनको प्रवद्र्धन गर्दै आर्थिक लाभ लिनेतर्फ ध्यान पुग्नुपर्ने बताए । संघले विगत देखि नै पर्यटन प्रवद्र्धनका कामहरु गर्दै आएको भन्दै तुलाचनले उक्त हाइकिङ कार्यक्रम पनि संघको सोही अभियान अन्तर्गतको कार्यक्रम भएको सुनाए ।

पदयात्राको विकास, प्रवद्र्धन तथा पर्यटकीय गतिविधिमा बढावा ल्याउँदै पर्यटकको बसाई लम्ब्याउने उद्धेश्य कार्यक्रमले लिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । फेवा ताल, अन्नपूर्ण हिमश्रृंखला, हरिया डाँडाकाँडा, गाउँले जनजीवन र पुराना सिंढीहरु यो पदयात्रा मार्गका विशेषता हुन् । उकालो ओरालो तथा फेवा ताललाई नजिकबाट नियाल्दै हिमाली दृष्यको समेत अवलोकन गरेर यात्रा गर्न सकिने भएका कारणले पनि उक्त पदयात्रा मार्गले ठूलो संभावना बोकेको व्यवसायीले बताएका छन् ।

कमेन्टहरु
Loading...