मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ पुग्यो, एकै पटक ३९ प्रतिशत भन्दा धेरैले बढाईयो

काठमाडौं, २५ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरको न्यूनतम पारिश्रमिक तोकेको छ ।मन्त्रालय, न्यूनतम पारिश्रमिक निर्धारण समिति, ट्रेड युनियनहरु र रोजगारदाता उद्योगीहरुबीच सहमति भएपछि मन्त्रालयले मजदुरको मासिक न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ कायम गरेको हो । तर यो निर्णयमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कंग्रेसले भने असहमति जनाएको छ । तर कंग्रेसबाहेक अरु ट्रेड युनियन, उद्योगी र न्यूनतम पारिश्रमिक निर्धारण समितिबीच न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ पु¥याउने सहमति भएपछि मन्त्रालयले पनि सहमति गरेको हो ।

अहिले मजदुरको न्यूनतम तलब ९ हजार ७ सय रुपैयाँ रहेकोमा ३९ प्रतिशत भन्दा धेरैले बढाएर १३ हजार ४ सय ५० रुपैयाँ पुर्याइएको छ । मजदुरको तलब यति धेरै अनुपातमा बढेको यो पहिलो पटक हो । बढेको तलबबाट १० प्रतिशत सञ्चयकोष, ८ दशमलब ३३ प्रतिशत उपदान, र १ दशमलब ६७ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ । बढेको तलबमा चाडपर्व खर्च, बिदा वापतको भुक्तानी, सुत्केरी भत्ता, बीमालगायतका योजना नजोडिएकोले अब मजदुरको न्यूनतम तलब १५ हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

बढेको तलबमा ट्रेड युनियन कांग्रेसले असहमति जनाए पनि सत्तारुढ दल सम्बद्ध ट्रेड युनियनले भने सहमति जनाएका छन् ।यो तलबमा सबैजसो उद्योगका छाता संगठनले पनि सहमति जनाएका छन् । मन्त्रालयमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले उद्योगहरुको अवस्था राम्रो नभए पनि न्यूनतम पारिश्रमिक लागु गर्ने जनाएका छन् ।कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले अब साउन १ गतेदेखि नै नयाँ तलब लागू हुने र सबै मजदुरको तलव बैंक खातामा जाने भएकाले कुनै पनि उद्योगले मजदुर ठग्न वा न्यूनतम भन्दा तल तलब दिन नपाउने बताउनुभयो ।

यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिले मजदुरको न्युनतम दैनिक ज्याला पाँच सय १७ रुपैयाँ निर्धारण गरेको छ । अब कुनै पनि क्षेत्रमा काम गर्ने मजदुरले दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाउनेछन् । यस्तै घन्टाको आधारमा काम गर्ने मजदुरले प्रतिघन्टा ६९ रुपैयाँ ज्याला पाउनेछन् ।

(सभार​:उज्यालो अनलाईन)

कमेन्टहरु
Loading...