३४ अर्व लगानीमा वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार चल्ने

प्रकाश ढकाल
पोखरा, १६ जेठ/कास्की वीरेठाँटीदेखि प्रशिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ जोड्नेगरी केवलकार सञ्चालन हुने भएको छ । मुक्तिनाथ दर्शन प्रालिले ३४ अर्ब रुपैयाँ लगानीमा केवलकार निर्माणको तयारी गरेको हो ।

मुक्तिनाथ दर्शन प्रालिले वीरेठाँटीबाट मुक्तिनाथसम्मको करिब ८४ किलोमिटर लामो केवुलकार सञ्चालनको प्रश्ताव लगानी बोर्डमा पेश गरेको हो । जसका लागि सम्भाब्यता अध्ययन र विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम हुँदैछ ।

१८ महिनाभित्रै डिपिआर र वातावरणीय प्रभाव मुल्यांकन गरेर निर्माणको काम थालिने निर्माण कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले जानकारी दिए । ‘डिपिआर सकेपछि सरकारसँग पिडिए गरेर वित्तिय ब्यवस्थापन गर्छौं । २ बर्षभित्र प्रारम्भीक काम सक्ने योजना छ, उनले भने–त्यसपछि ३ बर्षमा निर्माण सक्ने योजना हो । कुनै अवरोध नभए तोकिएकै समयमा काम सक्ने लक्ष्य छ ।’

उनका अनुसार करिब ३४ अर्व रुपैयाँ लागतमा केवुलकार निर्माण हुन लागेको हो । ८५ प्रतिशत ऋण र १५ प्रतिशत प्रर्बतकबाट जुटाउने सापकोटाको भनाई छ । ‘प्रश्तावित लागत १ बर्षअघिको हो । कुल लागतको २८ अर्व ९० करोड लगानी बैदेशिक ऋणबाट जुटाईने छ, उनले थपे–बाँकी ५ अर्ब १० करोड बराबरको रकममध्ये २ अर्ब ८० करोड लगानी प्रवद्र्धकको हुनेछ भने २ अर्ब २९ करोड सर्वसाधारणका लागि शेयर खुला गरिनेछ ।’

बाह्य लगानीकर्ताका बारेमा भने उनले खुलाउन चाहेनन् । ६ वटा खण्डमा विभाजन गरेर यसको निर्माण गर्ने कम्पनीको योजना छ । १३ किलोमिटर लामो वीरेठाँटी–घोरेपानी खण्ड हुनेछ भने घोरेपानीदेखि तातोपानीसम्मको लम्बाई १३ किलोमिटर लामो छ । त्यसपछि लेतेसम्म १६ किलोमिटर तथा लेतेदेखि जोमसोमसम्म २४ किलोमिटर लामो यात्राको परिकल्पना गरिएको छ । यस्तै जोमसोमदेखि कागवेनीसम्म ८ किलोमिटर र कागवेनीबाट मुक्तिनाथसम्म ९ किलोमिटर दुरीको खण्ड तय गरिएको छ । मार्फा केवुलकारको ट्रान्जीटको रुपमा प्रश्तावित छ ।

केवुलकार यात्रा २ घण्टा १० मिनेटको हुनसक्ने प्रश्तावकको अनुमान छ । यद्यपी यसको गतिमा भर पर्ने र मार्फाको ट्रान्जिट सहित गर्दा ३ घण्टामा यात्रा पूरा हुने बताईएको छ । ‘एकैपटक मुक्तिनाथसम्म पुग्दा स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसैले हरेक स्टेसनमा यात्रुलाई ओरालेर अर्को डिब्बाबाट लैजाने हो, कम्पनीले भन्यो–यसले मुक्तिनाथ भन्दा नजिकका यात्रु पनि चढ्न पाउँछन् र मुक्तिनाथ पुग्ने यात्रुलाई पनि फाईदा हुन्छ ।’ सार्वजनिक नीजि साझेदारी अवधारणा अनुसार केवुलकार निर्माण भएपछि बर्षमा ३६ लाख भन्दा बढी पर्यटक मुक्तिनाथ पु¥याउने प्रश्तावकको आँकडा छ ।

कम्पनीलाई लगानी बोर्डको ३० औं बैठकले विस्तृत अध्ययनको लागि स्विकृति दिईसकेको छ भने केही दिनभित्रै अध्ययन सम्झौता पनि गरिने जनाएको छ । प्रश्तावित अध्ययनको लागि बोर्डले बैंक ज्ञारेण्टी राखेको र समयमा काम नभए जफत गर्ने कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए । ‘यसबर्षदेखि हामीले सबै आयोजनामा बैंक ज्ञारेण्टी अनिवार्य गरेका छौं । यो प्रोजेक्टमा पनि अध्ययनको लागि मात्रै ४ करोड रुपैयाँ बैंक ज्ञारेण्टी राखिसकेका छौं, उनले भने–१८ महिनाभित्र अध्ययन सक्नुभएन भने धरौटी रकम जफत हुन्छ । सम्झौता अनुसार समयभित्रै काम सक्नुपर्ने ब्यवस्था अव लागू भयो ।’

८४ किलोमिटर लामो केवुलकार ३४ अर्व लागतमा ५ बर्षभित्र निर्माण गरिसक्ने योजना छ । ब्यवसायीले नै प्रश्ताव पेश गरेका कारण सम्बन्धित निकायमा थप अध्ययन गरी आवश्यक संशोधन गर्न १५ दिनको समय दिईएको अधिकारी बताउँछन् । ‘वहाँहरुले नै प्रश्ताव गर्नुभएको हो । हामीले त्यसलाई केलायौं र अहिले थप संशोधनका लागि सम्बन्धित पक्षलाई पठाएका छौं, उनी भन्छन्–सबैले अध्ययन गर्नुहुन्छ । प्राप्त सुझावलाई संशोधन गरी सम्झौताको चरणमा लैजान्छौं ।’ हाल तीनजना नेपाली लगानीकर्ताले मात्रै प्रश्ताव पेश गरेको र बैदेशिक लगानी आउने आश्वासन दिएको उनको भनाई छ ।

वीरेठाँटीदेखि मुक्तिनाथसम्म यात्रा गर्दा नेपाली यात्रुले प्रतिब्यक्ति ६ हजार रुपैयाँ तिर्नुपर्छ भने विदेशी पर्यटकका लागि फरक भाडादर छ । विदेशी पर्यटकमध्ये पनि भारतीय र तेश्रो मुलुकका पर्यटकले फरक रकम तिर्नुपर्छ । भारतीय पर्यटकले ६ हजार भारतीय रुपैयाँ र अरु देशका नागरिकले १ सय अमेरिकी डलर भाडादर कायम हुने प्रवर्तक कम्पनीका अधिकृत श्रीधर सापकोटा बताउँछन् ।

कमेन्टहरु
Loading...