इन्द्रवराह कृषि सहकारीको डेरी संचालन

लेखनाथ, १ कात्र्तिक / पोखरा महानगरपालिका वडा नं. ३२ मा रहेको इन्द्रबराह कृषि सहकारी संस्थाले शुक्रबार देखी दुग्ध डेरी संचालनमा ल्याएको छ ।

डेरीको उद्घाटन गर्दै, पोखरा महानगरपालिका वडा नं. ३२ का वडाध्यक्षा अक्कल बहादुर कार्कीले सहकारीहरुले शेयर सदस्यहरुलाई लाभान्वीत हुने गरी योजना ल्याएर कार्यान्वयन गर्न आग्रह गरे । उनले सहकारीहरुले घरजग्गाको कारोबारमा लगानी गर्दा सर्वसाधारणको शेयर पुँजि जोखिममा पर्ने गरेको भन्दै, हैसियत भन्दा माथिको कारोबार नगर्न समेत सहकारीलाई सचेत गराए ।

महानगरपालिकाले कृषि क्षेत्रमा रकम विनियोजन गरेकाले कृषिसँग सम्वन्धीत योजना बनाएर पेश गर्न समेत आग्रह गरे । कार्यक्रममा स्थानीय समाजसेवी टीकाराम पगेनीले पछिल्लो समय सहकारीहरु महत्वकाक्षी बन्दै गएका उल्लेख गदै, इजाजतमा उल्लेख भएको उद्देश्य बाहिर गएर कर्जा प्रवाह भएको बताए ।

सहकारीका अध्यक्ष बुद्धिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हिमाल डेरीका संचालक शिवहरी आचार्य, सहकारीका सचिव अमृत सापकोटा लगायतले बोलेका थिए । सहकारीले शुक्रबार पहिलो दिन ६० लिटर दुध संकलन गरेको छ । पहिलो दिन भएकाले केही कम संकलन भए पनि पछिल्लो दिनमा कारोबार बढ्दै जाने सहकारीका सचिव अमृत सापकोटाले जानकारी दिए । उनले केही उपकरण सहित अहिले १० लाख रुपैयामा डेरी संचालन गरिएको जानकारी दिए ।

कमेन्टहरु
Loading...