पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि हिरा भट्टराईको उमेद्वारी घोषणा

पोखरा, २७ साउन /पोखरा उद्योग वाणिज्य संघ स्थापनाको ६ दशक पछि संघले पहिलो पटक अध्यक्षमा महिला उम्मेदवार पाउने भएको छ । महिला उद्यमी हिरा भट्टराईले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेदवारी दिने बिहीबार पोखरा पत्रकार सम्मेलन गरि घोषणा गरेकी छन् । संघको ३१ औं महाधिवेशन भदौ ३१ र असोज १ गते हुँदैछ ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि हिरा भट्टराईको उमेद्वारी घोषणा
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि हिरा भट्टराईको उमेद्वारी घोषणा

अध्यक्षमा उम्मेदवारी दिने तयारीसँगै भट्टराईले आफ्ना समर्थक व्यवसायीहरुलाई साथमा लिएर चुनावी प्रचार–प्रसारलाई तिब्रता दिएकी छन् । संघमा कार्यसमिति सदस्य हुँदै उपमहासचिव सम्मको जिम्मेवारी बहन गरिसकेकी भट्टराई संघ अन्तर्गतको महिला उद्यम विकास उपसमितिमा ५ कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेकी छन् । अहिले पनि उनी घरेलु तथा साना उद्योग प्रवद्र्धन उपसमिति संयोजक छन् ।

कास्की पोखरा हस्तकला संघको संस्थापक अध्यक्ष रहेकी भट्टराई महिला उद्यमशीलताको क्षेत्रमा सक्रिय भएर काम गरिरहेकी छन् । ‘संघको इतिहासमै पहिलो पटक महिलाको प्रतिनिधित्व गर्दै अध्यक्षमा उम्मेदवारी दिँदैछु,’ उनले भनिन्, ‘एक दशक भन्दा बढी संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवले मलाई अध्यक्षमा काम गर्न सजिलो बनाउनेछ ।’ महिला उद्यमी तथा व्यवसायीका साथै सबैको साथ र सहयोग पाउनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

‘आर्थिक समृद्धिका लागि सबल र सक्षम नेतृत्व’ नाराका साथ आफूले अध्यक्षमा उम्मेदवारी दिने उनले बताइन् । पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो उम्मेदवारी फिर्ता नलिने पनि घोषणा गरिन् । सबैलाई समेटेर संघको नेतृत्व गर्ने उनको प्रतिबद्धता छ । चुनावी अभियानमा आफू धेरै अगाडि बढिसकेको उनले बताइन् ।

कमेन्टहरु
Loading...