घान्दुक आन्तरिक तथा बाह्य पर्यटकका लागि सुरक्षित गन्तव्य

पोखरा, २२ मंसिर /कास्की जिल्लामा रहेको ग्रामिण पर्यटकीय क्षेत्र घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकका लागि सुरक्षित गन्तव्य भएको एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय,पोखरा र युएसआइपी नेपालद्वारा घान्द्रुक गाविसमा आयोजना गरिएको ग्रामिण पर्यटन विकास र सुरक्षा सवाल विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सुरक्षा लगायत समग्र दृष्टिकोणले पर्यटकका लागि सुरक्षित गन्तव्य भएको बताए । उनीहरुले घान्द्रुक पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश पु¥याउन सकेमा मात्र ग्रामिण क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने भएकोले सरोकारवाला निकाय समन्वय र सहकार्य गर्दै गरेर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए । उनीहरुले रातको समयमा प्रहरी गस्ती बढाउनु पर्ने र दरवन्दी अनुसार प्रहरी जनशक्ति परिचालन नहुदाँ सुरक्षा व्यवस्थाप्रति पर्यटक तथा व्यवसायी ढुक्क हुन नसकेको गुनासो गरे ।
पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले ग्रामिण क्षेत्रको पर्यटन विकासका लागि घान्द्रुक जस्ता पर्यटकीय गन्तव्य सुरक्षित भएको सन्देश आन्तरिक तथा बाह्य पर्यटकमा पु¥याउन सकेमा मात्र पर्यटन क्षेत्रको विकास हुने बताए । घान्दुक आमा समुहकी सचिव कमला गुरुङले पर्यटकको सुरक्षा र विकासमा विगतका तुलनामा धेरै सुधार आएको, आमा समूहबाट विशेष सरसफाई अभियान सञ्चालन गरिएको भएपनि प्लाष्टिक जन्य बस्तुको प्रयोग नियन्त्रण गर्न नसक्दाँ प्रदुषण बढेको बताइन् ।
पर्यटन व्यवसायी हरिमाया गुरुङले विकृति र विसंगती नियन्त्रणका लागि रातको समयमा विशेष सुरक्षा गस्ती बढाउँनु पर्नेमा आवश्यकता औल्याइन् । मेश्रम बराह माविका प्रधानाध्यापक रामेश्वर सुवेदीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै मौलिक संस्कृतिको संरक्षणमा जोड दिनु पर्ने बताए । गाविसका निवर्तमान अध्यक्ष तीलबहादुर गुरुङले पर्यटकको सुविधाका लागि बैकिङ क्षेत्र र डलर सटहीको व्यवस्था मिलाउनु पर्ने बताए ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले ग्रामिण पर्यटनको विकास र सुरक्षा सवालमा विगतमा भएका छलफलको कार्यान्वयन हुन नसकेको बताउँदै पर्यटन विकासका लागि सम्पुर्ण सरोकारवाला निकायवीच निरन्तर समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...