गण्डकी प्रदेशको बजेट आज, गन्थनबाट लाइभ हेर्न सकिने

पोखरा, १ असार/ गण्डकी प्रदेश आगामी आर्थिक बर्षको बजेट आज सार्वजनिक गर्दैछ । सोमबार ४ बजे अर्थमन्त्री किरण गुरुङले संसदमा बजेट प्रश्तुत गर्ने कार्यक्रम छ । संघ सरकारले आगामी बर्ष १५ अर्व ४४ करोड को सिलिङ दिएको छ । अघिल्लो बर्ष भन्दा यो बजेट ३४ करोड मात्रै बढी हो ।

प्रदेशको आन्तरिक आम्दानी निकै न्यून छ । ‘पैसा नभए पछि ब्यवस्थापन गरौंला । तर बजेट अहिलेकै हाराहारीमा न्यूनतम हुनुपर्छ,’ एक मन्त्रीले भने, ‘अर्थ मन्त्रालय चाहीँ ३० अर्व कटाउने पक्षमा छैन । सम्भवतः ३१ अर्व तिरै बजेट आउला ।’

आगामी बर्षको बजेटमा सरकारले महामारीबाट प्रभावित पर्यटन, कृषि, उद्योग, यातायात, निर्माण लगायत क्षेत्रलाई जीवन्त राख्न व्यवसाय जीवन रक्षा कोष सञ्चालन गर्ने बताएको छ । यो शीर्षकमा मात्रै १ अर्वको बजेट राखिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघि नै घोषणा गरिसकेका छन् । कृषि अनुदान कटौति गर्ने र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिने सरकारले जनाएको छ ।

आगामी बर्ष संक्रामक रोग उपचार अस्पताल स्थापना गर्न बजेट ब्यवस्था गर्ने छ । प्रदेश विश्वविद्यालयको पढाई आगामी बर्षको कार्तिक देखि चलाउने तयारी छ । यसमा पनि पर्याप्त बजेट ब्यवस्था गर्नुपर्ने दवाव छ । यसबाहेक अधिकांश योजनाहरु पूरानै निरन्तरता हुनेछन् ।

कोरोनाको प्रभाव न्यूनिकरण गर्दै आर्थिक गतिविधि चलायमान बनाउने गरी आगामी बर्षको बजेटलाई प्र्रभावकारी रुपमा हेरिएको छ । बेरोजगारलाई रोजगारी सिर्जना हुने र रुग्ण उद्योगहरुलाई पुनरुत्थान गर्ने कार्यक्रम सरकारलाई चुनौति छ । चालू बर्षमा सरकारले ३२ अर्व १३ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । यो बर्ष ४० प्रतिशत हाराहारीमा खर्च हुने अनुमान छ ।

कमेन्टहरु
Loading...