प्रविधिले सहरकारीलाई निगरानी गर्छाैंः मेयर जिसी

पोखरा, ३१ वैशाख / भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले पोखराका २७ सहकारीका प्रतिनिधिलाई तालिम दिएको छ । सहकारी लेखा व्यवस्थापन तथा वित्तीय विश्लेषण सम्बन्धी तालिम दिइएको हो ।

तालिमको अन्तिम दिन समापन सत्रमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले तत्कालीन जिल्ला स्तरमा रहेका सहकारी डिभिजन कार्यालय स्थानीय तहमा हस्तान्तरण भएसँगै सहकारीको व्यवस्थापनमा महानगरले चासो दिइरहेको बताए ।

महानगरको दायराभित्र पर्ने सहकारीको आर्थिक पारदर्शिता र कार्यशैली विकास गर्न तालिमको प्रबन्ध गरिएको बताउँदै मेयर जिसीले सिकाइलाई प्रभावकारी रुपमा व्यवहारमा उर्तान आग्रह गरे । उनले भने, ‘तालिमका तालिम मात्र नभई, यो सिकाइले सहकारी व्यवस्थापन र कार्यशैली सुर्धानमा सहयोग गर्नेछ ।’

प्रविधिले नयाँ युगको जन्म लिइरहेको बेला महानगरले समेत प्रविधिको प्रयोगलाई आत्मसाथ गर्दै एउटै सर्भरबाट सबै सहकारीको अनुगमन, निरीक्षण गर्ने गरी काम थालिने जानकारी दिए । सहभागी सबैलाई असल सहकारीकर्मी भएर काम गर्न समेत उनले आग्रह गरे ।

तालिममा लेखा व्यवस्थापन, सैद्धान्तिक विषय, नगद प्रवाह ज्ञान, कर्जा प्रवाह, कोष व्यवस्थापन, वित्तीय जोखिम विश्लेषण, सम्पत्ति शुद्धीकरण सम्बन्धी कक्षा सञ्चालन गरिएको सहकारी दर्ता अधिकारी एवं महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

सहभागीले उक्त अवधिमा विभिन्न २१ वटा कक्षा मार्फत् १० जना प्रशिक्षकबाट प्रशिक्षण लिएका थिए । पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले लेखा तथा वित्तीय विश्लेषण तालिमले सहकारीलाई थप जिम्मेवार बनाई कार्यदक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहकारी समिति सदस्य पूर्णकुमार गुरुङ र राधिका साही योगीले पनि सहकारीको बारेमा बोलेका थिए ।

तालिममा सहभागी क्रियाशील महिला विकास सहकारी संस्थाकी प्रतिनिधि शारदा गिरीले तालिमबाट सिकेको ज्ञान उपयोग गर्न सके कार्यालय व्यवस्थापनमा समस्या नरहने बताइन् । सफल सहकारी बनाउन कुनकुन पक्ष आवश्यक रहने, लेखा व्यवस्थापन कसरी गर्ने भन्ने कुरा तालिमको महत्वपूर्ण पक्ष भएको उनले जनाइन् ।

सम्पत्ति शुद्धीकरणलाई ध्यान दिँदै नीति नियम र सिद्धान्त अनुरुप चल्न सके सहकारीले राखेको दीगो लक्ष्य सफल हुनेमा उनले विश्वास व्यक्त गरिन् । तालिममा नयाँ दर्ता भएका १७ सहकारी र केही पुराना गरी २७ संस्थाका १/१ जनाले प्रशिक्षण लिएका थिए ।

तत्कालीन सहकारी डिभिजन कार्यालयबाट हस्तान्तरण भई पोखरा महानगरमा आएका ३ सय १७ र थप नयाँ १७ सहकारी गरी ३ सय ३४ सहकारीलाई महानगरले नियमन गर्दै आइरहेको छ । थप १७ नयाँ सहकारी दर्ता प्रक्रियामा रहेको जनाइएको छ ।

 

कमेन्टहरु
Loading...