यस वर्ष आलु महोत्सव नहुने

हेमजा, ३ चैत / विश्वभर फैलिएको कोरोना (कोभिड १९) भाइसरका कारण यस वर्ष हेमजामा आलु महोत्सव नहुने भएको छ । भाइरसका कारण सरकारले मेला महोत्सव नगर्न भनेपछि यस वर्ष महोत्सव नगर्ने निर्णयमा पुगिएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।शनिवार बसेको सल्लाहकार सहितको क्लव बैठकले उक्त निर्णय गरेको हो ।

वि.स २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको उक्त महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालिन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लवले गर्दै आएको थियो ।

यसैबीच पोखरा–२५, हेमजाको वडा कार्यालयले आइतवार एक सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइसरको संक्रमणका कारण वडाका हुँदै आएका आलु महोत्सव, शुभकामना कप लगायतका कार्यक्रम नगर्न निर्देशन दिएको छ।

अन्र्तराष्ट्रिय स्तरमा महामारीको रुपमा फैलिएको उक्त भाइरसका कारण विश्व स्वास्थ्य संगठनले समेत आम मानव समुदायलाई सतर्क रहन विश्वव्यापी सूचना जारी गरेको र छिमेकी मुलुक चीन र भारतमा समेत यस रोगको प्रकोप डरलाग्दो देखिएकाले आलु महोत्सव तथा शुभकामना कप लगायतका कार्यक्रम नगर्न नगराउन निर्देशन दिनु परेको वडाध्यक्ष शोभाकर तिम्सिनाले बताए ।

त्यस्तै वडाले ठूलो समूहमा जमघट हुँदा अन्य सभा समारोहमा सहभागि हुँदा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...