विमान दुर्घटनाप्रति होटल संघद्वारा दुःख व्यक्त

पोखरा, १ चैत : ५१ जनाको ज्यान जाने गरी गत सोमबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनाप्रति पश्चिमाञ्चल होटल संघ पोखराले गहिरो दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष विकल तुलाचनले विहिबार एक विज्ञप्ति जारी गरी घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दै तुलाचनले उनीहरुको उपचारमा कुनै कसर बाँकी नराख्न समेत सरकारसँग आग्रह गरेका छन् ।
यसप्रकारको दुर्घटनाले पर्यटन क्षेत्रमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै संघले दुर्घटनाबाट हुन गएको प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिप्रति चिन्ता प्रकट गरेको छ । पर्यटकीय सिजनको मुखैमा भएको यसप्रकारको घटनाले अन्तर्राष्ट्रिय पर्यटकहरुको नेपाल आगमनमा न्यूनता नआओस भनी सोही अनुसार अगाडि बढ्न समेत निजी क्षेत्र र सरकारसँग संघले आग्रह गरेको छ ।
नेपाली आकास असुरक्षित भएको प्रचार देश विदेशमा भइरहेको बेला भएको यो दुर्घटनाबाट पाठ सिक्दै त्रिभुवन विमान स्थलको सुधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य बैकल्पिक विमानस्थलको शीघ्र निर्माणतर्फ ध्यान दिन समेत सरकारसँग माग गरिएको छ ।
कमेन्टहरु
Loading...