रवि लामिछाने ५ लाख धरौटी बुझाएर छुटे

पुडासैनी प्रकरणबारे लामिछानेले सार्वजनिक सञ्चार माध्यममा बोल्न नपाउने

चितवन, ९ भदौ /पत्रकार शालिकराम पुडासैनीलाई आत्मत्याका लागि दुरुत्साहन गरेको अभियोग लागेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन जिल्ला अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन ।

उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ५ लाख, सोही टेलिभिजनका कार्यरत पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यस्तै अर्की अभियुक्त अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।अदालतको आदेशपछि लामिछाने र कँडेल धरौटी रकम बुझाएर रिहा भएका हुन । रिहा भएपछि सञ्चारकर्मी लामिछानेले आफूप्रति सहानुभूति प्रकट गर्नेहरुलाई धन्यवाद दिएका छन ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार राय सहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो ।तर, नर्स कार्कीको मात्रै बयान सकिएकाले तीनै जनालाई हिरासतमै राखियो । लामिछाने र कडेँलको बयान सोमबार सकिएपछि थुनछेक बहस भएको थियो ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।

पुडासैनी प्रकरणबारे लामिछानेले सार्वजनिक सञ्चार माध्यममा बोल्न नपाउने

यसैबिच, टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई सार्वजनिक सञ्चार माध्यममा मुद्दासँग सम्बन्धित कुरा गर्न रोक लगाइएको छ । जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिँदै मुद्दासँग सम्बन्धित कुरा सार्वजनिक माध्यममा गएर गर्न रोक लगाएको हो । यसका साथै उनि आफैले चलाउने कार्यक्रममा पनि मुद्दासँग सम्बन्धित कुरा गर्न नपाउने आदेश अदालतले दिएको हो ।

मुद्दा अहिले पनि विचाराधीन अवस्थामा रहेको र यसको अन्तिम टुंगो नलाग्दासम्म मुद्दासँग सम्बन्धित पीडित, प्रहरी, अदालत, मुद्दाका साक्षीको बयान लगायतका बारेमा सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पनि आफ्नो धारणा राख्न नपाउने आदेशमा भनिएको छ । यसका साथै नेपाल छाड्न समेत रोक लगाइएको छ । गम्भीर बिरामी भएर विदेशमा उपचार गराउन जानै पर्ने भए अदालतको अनुमतिमा मात्रै जान सकिने पनि उल्लेख छ ।

कमेन्टहरु
Loading...