विमानस्थलमा अभद्र व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ, मुद्दा चलाउने तयारी

ललितपुर, ३० भदौ । विमानस्थलमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको छ । शनिबार नेपालगञ्ज विमानस्थलमा अभद्र व्यवहार गरेको र पर्यटनमन्त्री योगेश भट्टराईमाथि विमान भित्रै गालीगलौज गरेको भन्दै प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।शनिबार नेपालगञ्ज विमानस्थलमा अभद्र व्यवहार गरेको सम्बन्धमा अनुसन्धान गर्न शाही विरुद्ध पक्राउ पुर्जी जारी गरेर हिरासतमा राखेका ललितपुर प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए ।

शाही लगायतका युवाले गत शनिबार मन्त्री योगेश भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए ।तर, गालीगलौजका क्रममा संयम देखिएका भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण दिएका छन र त्यसप्रति माफी पनि मागेका छन ।

बुद्ध एयरले पनि शाहीको समूहले दाबी गरे जस्तो १ घण्टा नभएर १५ मिनेट मात्रै उडान ढिलो भएको जनाएको छ ।प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।शाहीलाई अभद्र व्यवहार कसूरसँगै गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ विपरीत कसूर गरेको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको बताईएको छ ।

कमेन्टहरु
Loading...