अनेरास्ववियुको सचीवमा अनुप लामिछानेले गरे उम्मेद्बारी घोषणा

“शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अघि बढौँ” भन्ने मूल नाराका साथ अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को २४औं राष्ट्रिय महाधिवेशन जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
पर्वत जिल्लाको कुश्मा नगरपालिकामा जन्मिएर विद्यार्थी राजनीतिमा उदाएका अनुप लामिछानेले अखिलको २४औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल उनी अनेरास्ववियुका केन्द्रीय सदस्य हुनुका साथै कास्की र मुस्ताङ जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि छन्।

पृथ्वीनारायण क्याम्पस, पोखराबाट राजनीतिमा सक्रिय रहँदै आएका लामिछाने विद्यार्थी संगठनभित्र अनुशासन, विचार र संगठनात्मक क्षमताको मेल भएको व्यक्तित्वका रूपमा परिचित छन्।

“विद्यार्थी आन्दोलनलाई व्यवहारिक शिक्षा, रोजगारी र स्वदेशमै अवसर सिर्जनाको आन्दोलनमा रुपान्तरण गर्नु आजको आवश्यकता रहेको कुरा गर्दै लामिछानेले भने, “सचिव पदमा आएर म संगठनलाई विचार, व्यवहार र अभियानको समुचित समन्वयमार्फत अघि बढाउनेछु।”

उनले शिक्षा प्रणालीलाई सीपमुखी बनाउँदै राज्य संयन्त्रमा विद्यार्थीको हक, पहुँच र भूमिकालाई सुनिश्चित गर्ने संकल्प दोहोर्‍याए। साथै, संगठनभित्र महिला, दलित, जनजाति र पिछडिएको क्षेत्रका विद्यार्थीको सहभागिता र प्रतिनिधित्वमा पनि बल दिने प्रतिबद्धता जनाए।

पृथ्वीनारायण क्याम्पसका एक प्रतिनिधिले अनुप लामिछानेजस्तो दृष्टिवान् र जुझारु नेतृत्वले अनेरास्ववियुलाई विचार र व्यवहार दुवैमा उचाइमा पुर्‍याउने बताए।

महाधिवेशनमा देशभरका क्याम्पस, जिल्ला र प्रदेश कमिटीबाट आएका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
३२ वर्षे उमेरहद लागेर नयाँ नेतृत्व चयन गरिने यो महाधिवेशनलाई ऐतिहासिक मानिएको छ। लामिछानेको उम्मेदवारी संगठनलाई नयाँ ऊर्जा दिने संकेतका रूपमा हेरिएको छ।

कमेन्टहरु
Loading...