अदालतको अवहेलना मुद्दामा देउवालाई कारण देखाउ आदेश

काठमाडौं,  २४ चैत/सर्वोच्च अदालतले नेपाली कांग्रेस पार्टी र कांग्रेसका सभापति शेरबहादुर देउवालाई कारण देखाउ आदेश दिएको छ । आदेशमा विपक्षीलाई १० दिन भित्रमा किन के कारण उक्त प्रकारका अभिब्यक्ति दिएको हो र निर्णय गरेको हो सो खुलाई लिखित जवाफ पेश गर्न भनेको छ ।

सर्वोच्च अदालतमा नेपाली कांग्रेस र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतलाई अदालतको अवहेलनामा २० गते अधिवक्ता हरिप्रसाद मैनालीले मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा गएको मंगलबार सुनुवाई तोकिएको भएता पनि सो दिन अदालतले नै स्थगित सूचिमा राखेको कारण सुनुवाई भएको हुन सकेको थिएन ।

पेसी २२ गते तोकिएको भए पनि सो दिन अदालतले प्रकाशित गरेको दैनिक पेसी सूचिमा उक्त मुद्दा स्थगितमा राखिएको थियो र बिहिबार​ पेसी तोकेको थियो ।नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्ति पृथकीकरणको मान्यता भन्दा विपरित भएको भन्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेको थियो ।

यस्तै पार्टीका सभापति शेरबहादुर देउवाले १८ चैतमा विराटनगरमा ‘आइजिपी नियुक्त गर्ने काम सरकारको हो, हेर्दै जाउँ के हुन्छ ?’भनी अदालतले गरेको निर्णय उपर चुनौती दिएर बोलेको हुँदा यसले अदालतको फैसला कार्यन्वयनमा शंका उत्पन्न भएको साथै आदालतमाथिको औपचारिक र अनौपचारिक टिप्पणीले अदालतको सामाजिक प्रतिष्ठामा आँच आएको र जनमानसमा अदातलको कार्य र अदालतप्रतिको विश्वसनियता कमजोर बनाएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले उक्त निवेदन दर्ता गरेका थिए ।

कमेन्टहरु
Loading...