रिना थापा
स्मार्ट सिटी पोखरा महानगरपालिका वडा नम्बर ९ का ४ घर परिवार खानेपानीबाट वञ्चित भएका छन् । विगत १ वषदेखि स्थानीय र टोल छिमेकले नै उनीहरुलाई खानेपानी उपलब्ध हुन नदिन विभिन्न अवरोध गर्दै आएका छन् ।
१ वर्ष अगाडि शन्ति दर्शन टोल विकास संस्थामा धादिङका सन्तोष ढकालले घर निर्माण गरे । निर्माण सकेर बसोबास गर्न सुरु गरेलगत्तै उनले पानीको लाइन जोडे पनि धारामा पानी आएको छैन । लाइन जोडेपछि छिमेकी ढाकवती ढकाल लगायतले पाइप नै उखेलेर फालिदिए । त्यसपछि ढकालसहित ४ परिवार स्थानीय टोल विकास र वडा कार्यालय पनि पुगे । तर, पानीको लाइन पुनः जोडिन सकेको छैन ।
उक्त घरपरिवार बसोबास गर्दै आएको स्थानमा शान्तिदर्शन टोल विकास संस्था, शान्ति वन टोल विकास संस्था र माथिल्लो सिद्धमार्ग टोल विकास संस्था रहेका छन् ।
माथिल्लो सिद्धमार्ग टोल विकास संस्थाका २ घर मदिरा व्यवसायी हुन् । उनीहरु घरमा रक्सी पार्दै आएका छन् । उनै व्यवसायीनै समस्याको मुख्य जड हुन् । उसो त सिद्धमार्ग टोल विकास संस्थामा ३२ घरधुरी छन् । जसमध्ये २२ घरले खानेपानी संस्थानको पाइपलाइन प्रयोग गर्दै आएका छन् । खानेपानी संस्थानको पाइपलाइन २ इन्चको रहेको छ, जसले ५० बढी घरधुरीलाई पानी वितरण गर्ने क्षमता राख्छ । तर, २ स्थानीयकै अवरोधका कारण उनीहरुले पानी पाएका छैनन् ।
अवरोधका आरोप खेपेका भोजराज ढकाल भने उक्त आरोप स्वीकार्न तयार छैनन् । उनका अनुसार उक्त ४ घर उनको टोलमा पर्दैन । टोलमा नपरेपछि पानी दिन बाध्य नभएको उनी जनाउँछन् । उनको टोलमा रहेको घरधुरीलाई यसैपनि पानी पु¥याउन मुस्किल छ । ‘अरु टोलले पनि पानी उपलब्ध गराउन सहयोग गरे यताबाट पनि सोही अनुसार गर्न सकिन्छ’ ढकाल भन्छन्, ‘जो होचो उसैको मुखमा घोचो भने झैं हामीलाई मात्र पेलेर जान खोजिएको हो ।’
सिद्धमार्ग टोल विकास संस्थाका अध्यक्ष सुर्य जलारीका अनुसार संस्था ४ घरलाई पानी उपलब्ध गराउन तयार छ । ‘हामी उहाँहरुलाई पानी दिन तयार छौं, तर हाम्रो टोलका केही स्थानीयको विरोधका कारण हामीले पानी वितरण गर्न पाएका छैनौं ।’ सबैको मन्जुरी र मिलेमतोमा चल्नु पर्ने भएकाले हाल सहमति गर्ने प्रयास भइरहेको जलारीले जानकारी दिए । तर छिमेकीहरुले आफूहरुलाई पानी अभाव हुने आशंकामा पानी लाइन जोड्न दिएका छैनन् ।
स्रोतका अनुसार पानी वितरणमा अवरोध गर्ने २ घरका व्यक्तिले रक्सी भट्टी चलाउँछन् । भट्टी चलाउन पानीको आवश्यकता बढी हुने भएकाले उनीहरु सुरुदेखि नै तगारो बनेका छन् । स्रोत भन्छ, ‘उनीहरुको काम र स्वार्थ गैरकानूनी हो ।’
आइतबार पानी नपुगेको स्थानमा सडक डिभिजनले सडक ढलान कार्य सुरु ग¥यो । जसकारण ४ घरधुरीले ढलान भइसकेको स्थानमा पानी पाइप बिछ्याउँदा बढी खर्च लाग्ने सोचले पानीको पाइप मात्र बिछ्याएका थिए । जहाँ तिनै २ घरका सदस्यले पाइप फालिदिएका हुन् ।
खानेपानीको कष्ट भोगिरहेका ढकाल अब दुश्मनी मोलेर पानी नजोड्ने बताउँछन् । ‘खानेपानी संस्थानले पानी जोड्ने पोइन्ट देखाउनु भन्छ, १ वर्ष भइसक्यो सबैलाई पत्राचार गरेको, तर अझै आउँदैन ।’ ढकालले भने, ‘एउटै टोलमा बस्ने हो, दुश्मनी गरेर पानी जोड्नु छैन ।’
यस विषयमा वडाध्यक्ष रामराज लामिछाने स्थानीयकै अवरोधका कारण समस्या भएको बताउँछन् । टोल संस्थाले पानीको पाइप दिन मन्जुरी भए पाइपको इन्च समेत बढाउन तयार रहेको उनी बताउँछन् । ‘स्थानीयलाई आफूहरुलाई पानी पुग्दैन जस्तो लाग्छ भने वडामार्फत् पाइपको आकार बढाउन तयार छौं, तर उहाँहरु मान्नुहुन्न ।’ लामिछाने लाचार देखिए । आफूले मिलाउने कोसिस गरिरहेको बताउँदै उनले कसैलाई पनि मर्कामा पर्न नदिने उल्लेख गरे ।
पानी नपाउने ४ घरधुरी शान्तिवन टोल विकास संस्थामा रहेका छन् । तर उक्त टोल विकास संस्थामा पानीको क्षमताभन्दा पानी प्रयोग गर्ने उपभोक्ता बढी भएपछि बसोबास गर्दै आएको टोल विकास संस्थाले उनीहरुलाई पानी पु¥याउन सक्दैन ।
टोल विकास संस्थाका अध्यक्ष उत्तम जोशीले टोलमा पानीको पाइपको साइज बढाइदिन वडा कार्यालयमा पत्राचार गरेको बताए । ‘हामीले १ हप्ता अगावै वडामा पत्राचार गरेका छौं ।’, उनले भने, ‘तर वडामार्फत् कुनै प्रतिक्रिया आएको छैन ।’ उनले पाइपको क्षमताभन्दा बढी पानी दिन चाहेर पनि नसकिने जनाए ।
उक्त टोलमा २ इन्च क्षमताको पाइप छ । जसले ७० घरधुरीलाई पानी पु¥याउने क्षमता राख्छ । तर सोही टोलमा १ सय बढी घर बसोबास गर्छन् ।
स्मरण रहोस् नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्य सम्बन्धी हकको उपधारा ४ मा ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ’ भन्ने व्यवस्था छ ।