पोखरा । शुक्रबार दिउँसो सवा १२ बजे निर्देशनालयले भाटभटेनीमा कार्यरत २४ वर्षीय पुरुष सहित पोखरामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गर्दै विज्ञप्ति निकाल्यो । उक्त समाचारले दैनिकि सयौंको संख्यामा सामान लिन आवतजावत गर्नेलाई त्रसित बनायो । साथै कर्मचारीमा संक्रमण पुष्टि भइसकेपछि पनि भाटभटेनी स्टोर्स सञ्चालनमा भइरहँदा यसले थप जोखिम निम्त्याउने हो कि भनेर पनि त्रास फैलियो ।
तर उक्त कर्मचारी भाटभटेनीमा कार्यरत कर्मचारी नभई हिम इलेक्ट्रोनिक्स सामसुङका आधिकारिक विक्रेता भएको भाटभटेनी कार्यालय पोखराका प्रबन्धक बिनोद भटराईले जानकारी दिएका छन् । ‘सामसुङको सामान हामीले पनि बेच्छौं । सामसुङले आफ्नो प्रतिनिधिलाई भाटभटेनीमा कहिलेकाही स्टक हेर्न र सेल्सका लागि ८/१० घण्टाको अक्कलझुक्ल ड्युटी दिन्छ त्यो बाहेक उनी यहीं कार्यरत कर्मचारी हैनन् ।’ उनले भने ।
उनका अनुसार संक्रमित गत शनिबारदेखि भाटभटेनी स्टोर्समा आएका थिएनन् । साथै स्टोर्सले संक्रमितको सम्पर्कमा आफ्ना कुनै पनि कर्मचारी सम्पर्कमा नआएको जनाएको छ । तर पनि सुरक्षालाई मध्यनजर गर्दै उनीसँग केही दिन अगावै सम्पर्कमा रहेका १ जना कर्मचारीलाई सेल्फ क्वारेन्टिनमा राखिएको भट्टराईले जानकारी दिएका छन् ।
‘हामीले १ हप्ता अगाडिको सिसी क्यामरा हे¥यौं, उनी सबैबाट टाढा थिए । स्टोर्समा आउँदा पनि पछि अपरेसनका लागि १ हप्ता अगाडि नै बिदा लिएर बसेका थिए । अस्पताल गइसकेपछि परिक्षणमा उनलाई पोजेटिभ देखिएको हो ।’ भट्टराईले भने, ‘ग्राहक माझ त्रास फैलाउने कार्य भयो । हामीलाई पनि आफ्नो र दैनिकि आउने ग्राहकको चिन्ता छ । सुरक्षाको पोर्टकल अपनाएर काम गरिरहेका छौं ।’
यता पोखारा स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले १ जनामा देखिँदैमा स्टोर्स बन्द गर्ने कुरा नरहेको बताए । ‘अब १ जनामा लाग्यो भन्दैमा त्यत्रो ठुलो स्टोर्स बन्द गर्ने कुरा हुँदैन । तर उहाँको एक्सपोजरहरुलाई क्वारेन्टिनमा बस्ने भनेर खबर गरेका छौं ।’ उनले भने ।