संविधान दिवस: पोखरामा धर्म, अर्थ, काम र मोक्षमा बहस

पोखरा । संविधान दिवसको अवसरमा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले आफ्नो साधारण सभा सहित धर्म, अर्थ, काम र मोक्ष विषयक बहस सम्पन्न गरेको छ । बहसमा वक्ताहरूले ती क्षेत्रका विविध पक्षबारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा डा.लेखनाथ आचार्यले मोक्ष विषयमा चर्चा गर्दै बोध हुनेहरू नबोल्ने र बोल्नेमा बोध नहुने कारण समाज अप्ठ्यारोमा परेको धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विश्व अर्थ अवस्थाकै कारण युद्धमा फस्ँदै गएको बताउनुभयो । जीवनको प्रत्येक क्षणमा अर्थको महत्व रहने तर मान्छेले सम्यक हिसाबले अर्थोपार्जन गर्नुपर्ने उल्लेख गर्दै उहाँले आर्थिक महत्वकाङ्क्षाकै कारण व्यक्ति आत्महत्याको तहसम्म पुग्ने र समाज भाँडिदै गएको जिकिर गर्नुभयो ।

चिन्तक विश्वप्रकाश लामिछानेले मानिस स्वभावैले धार्मिक हुने जनाउँदै ढोङ्गीहरुले धर्मको महत्व घटाउँदै लगेको बताउनुभयो । शोषणविहीन समाजको परिकल्पना अनुरुपको कर्म नै धर्म भएको उहाँको भनाइ छ ।

अधिकारकर्मी लेखक सावित्री गौतमले हिन्दू धर्ममा कामदेव जस्तै ग्रिकमा पनि पुरुषलाई यौनदेवता मान्ने चलन रहेको उल्लेख गर्दै उहाँले इन्द्रले अपराध गर्दा अहिल्या आदिले सजाय भोग्नु परेको तिक्तता व्यक्त गर्नुभयो । महिलाले यौन चाहना दमन गर्नुपर्ने, पुरुषलाई जहिले जतिसुकै बेला पनि हाम्रो समाजमा यौन स्वतन्त्रता रहेको उहाँले धारणा राख्नुभयो ।

विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले साहित्यिक संस्थाले यस्तो मर्मभेदी विषयमा बहस चलाउनु अनुकरणीय कार्य भएको बताउनुभयो । प्रा।डा। यामबहादुर पौडेल क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरू चन्द्रावती वाग्ले, रामनाथ अधिकारी संगी, विष्णु बास्तोला र नरेन्द्र रानाभाटले रचना वाचन गर्नुभएको थियो ।

कोरोना सचेतना सामग्री वितरण गरी सामाजिक दूरी कायम गर्दै सीमित समूहमा आयोजित कार्यक्रममा कोरोना सचेतनाका लागि लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सचेतना सामग्री, मास्क र स्यानिटाइजर उपलब्ध गराएको थियो । कार्यक्रममा संस्थाको प्रथम साधारण सभासमेत गरिएको थियो । सभाले महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित ग¥यो । सोही समारोहबीच साहित्यकार गीता भट्टराईको स्मृति सभा पनि गरिएको थियो ।

असफल गौतमले साहित्यकार भट्टराइकोे जीवनी र कृतित्वमाथि प्रकाश पार्दै उनको निधनले नेपाली वाङ्मयका क्षेत्रमा अपुरणीय क्षति पुगेको धारणा राख्नुभयो ।

कमेन्टहरु
Loading...