कोरोनासँग आफैँ जिस्किन्छन् नागरिकहरु (भिडियो सहित)

रिना थापा
मान्छेको लामो लाइन । काउन्टरमा ठेलमठेल । सबैलाई आफनै कामको चटारो अनि काम सकेर निस्किने हतारो । भुइँमा सामाजिक दुरि कायम गर्नका लागि कार्यालयले रेखाङ्कन पनि गरेको छ । तर सेवाग्राहीलाई उक्त घेराको मतलब छैन । यो सबै दृश्य हो आन्तरिक राजश्व कार्यालय पोखराको हो । कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठनले भनेको न्युनतम् भौतिक दूरीलाई कायम नगरि सरकारी कार्यालयले नै कानुनको खिल्ली उडाइरहेको थियो ।

कार्यालयको गेटभित्र प्रवेश गर्नेवित्तिकै कुनामा सुरक्षा गार्ड ज्वरो नाप्ने लिएर बसेका छन् । गेट छेउैमा साबुनको टुक्रा र पानी राखिएको छ । भित्र प्रवेश गर्ने सेवाग्राहिको विवरण समेत टिपिएको छैन । विवरण टिपियो भने कन्ट्याक टे«सिङमा सहज हुन्छ । सबैलाई हात धोएर जानुस भन्न पनि सम्भव थिएन । सबैले प्रयोग गरेको साबुन देखेर धेरै सेवाग्राहीले नाक खुम्चाउँथे ।

भित्र राजश्व तिर्नेहरुको लाइन थियो । दूरी कायम गराउनका लागि कोरिएको सेतो घेराले कसैलाई दूरी कायम गराउन सकेको थिएन । भिडलाई व्यवस्थित गर्न त्यहाँ एउटा कर्मचारी पनि खटाइएको देखिएको थिएन ।
सबैलाई अलिकति खाली ठाउँ राखे अर्कोले पालो मिच्ला भन्ने पीर । कार्यालय भवनको छेउैमा बैँक अफ काठमाडौँको काउन्टर छ ।

त्यहाँ पनि मानिसको उस्तै भीड । तर जे होस् मास्क भने अधिकांशले प्रयोग गरेका छन् । तर, दूरी कसैले कायम गरेका छैनन् । कसैलाई कोरोना संक्रमण भएको रहेछ भने अरुलाई सर्न पनि सक्छ । समयमा कर नतिरे जरिवानामा परिएला भन्ने डरले धेरै सेवाग्राहीहरु त्यहाँ पुगेका थिए ।

लकडाउन खुले लगत्तै साउन ७ गते देखि राजश्व संकलन गर्न सुरु गरिएको थियो । यो आर्थिक वर्ष राजश्व कार्यालयले ४ अर्ब ४२ करोड राजश्व उठाउने लक्ष्य राखेको छ । साउन महिनामा कार्यालयले ६५ करोड राजश्व संकलन गर्ने लक्ष्यमा ४५ करोडमा संकलन गरेको छ । भदौ महिनामा कति राजश्व संकलन जम्मा भयो भन्ने डाटा भने राजश्व कार्यालयले निकालिसकेको छैन ।

सेवाग्राहीको गुनासो


वार्षिक राजश्व कर तिर्न राजश्व कार्यालय पुगेका पोखरा २२ का सबिन केसिले जोखिम मोलेर कर तिर्ने लाइनमा बस्नु पर्दा डर र दुःख लागेको बताए । सरकारी कार्यालयले संक्रमणको सतर्कताका बारेमा खासै चासो नदेखाएको भन्दै उनले दुःख व्यक्त गरे ।‘सर्वसाधारणले पनि भौतिक दूरि कायम गर्नु भएको छैन । लाइनमा बस्दा छोइनै आउनुहुन्छ । यतिधेरै भीडमा एकजनालाई मात्र लागेको छ भने भोलि के गर्ने म अरुको असावधानीले असुरक्षित छु’ उनले भने, नागरिक पनि उस्तै कार्यालयका कर्मचारी पनि उस्तै ।

यतिबेला कोरोना संक्रमणको पोखरा महानगरपालिका हटस्पट बन्दै छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या उपत्यका भित्र बढ्दो छ । यस्तो समयमा सरकारले लकडाउन खुकुलो बनाएसँगै सरकारी कार्यालयमा बढेको मानिसको भीडभाडले जोखिम बढी निम्तिएको छ ।

नागरिकको पनि लापरवाही


कार्यालयका प्रमुख ऋषिराम पोखरेल कोरोना संक्रमण फैलन नदिनका लागि उच्च सुरक्षा सतर्कता अपनाए पनि सेवाग्राहीले लापरवाही गरेको उनी आरोप लगाउछन् । उनले सामाजिक दूरी कायम गर्न ५० रेखांकन गरिएको, स्यानिटाइजर तथा मास्क प्रयोग अनिवार्य गरिएको बताए ।
तर, बाहिर त लापरबाहि देखिन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘सेवाग्राहीहरु आफैँ सचेत नभएका कारण हो ।’ हामीसँग त्यहीँ लाइन मिलाउन खटाउने जनशक्ति छैन । जतिसक्दो सचेत गराउने कोसिस हामीले पनि गरेका छौँ तर उहाँहरु टेर्नुहुन्न । उनले भने, ‘पालो मिचिन्छ कि भनि रेखांकनमा बस्नुहुन्न । यसो मिलाउन जाँदा बस्नुहुन्छ फेरि उस्तै । ’
पोख्रेलका अनुसार नागरिक स्तरबाट पनि सचेत हुन जरुरी छ ।

कमेन्टहरु
Loading...