आफन्तकोमा आश्रय तथा संघसंस्थाले राहत स्वरुप प्रदान गरेको चाउचाउ र चिउरासंग जीवन बिताउँदै छन्, ढोरपाटनका बाढी पीडित

पोखरा । भुजीखोलाले बगाउँदा बाग्लुङ ढोरपाटन ९ का ३२ वर्षीय निमप्रकाश विकले आफ्नो २२ दिनको शिशु सहित परिवारका ४ सदस्य गुमाए । बाढीले बगाएको परिवारका सदस्यको जीवन उनले भेटेनन् भटे त परिवारको शव ।

श्रीमती चनी विक सहित छोरा रोशन, रवि तथा राजनलाई खोलाले बगाए पछि उनी अहिले नितान्त एक्लो बनेका छन् । लेकमा जानुनै उनको भाग्य बलियो रहेछ, उनी बाँचे । बाँच्न त बाँचेका छन्, तर एक्लो बनेर । जहान सहित सन्तानलाई भुजीखोलाले निले पछि उनलाई बाच्नुको खासै सार लागिरहेको छैन । ‘अहिले म नितान्त एक्लो भएको छु । बाढीले मेरा सबै जहान लग्यो । परिवारमा म मात्र बाँचेको छु ।’ निन्याउरो बन्दै उनले भने, ‘माथि लेक गोठमा जाने क्रममा म बाढीबाट बाँचे ।’ म बाँचेर के भो ? सबै परिवार गुमाउनु प¥यो । बाढीले परिवार मात्र लगेन घर सहित एक टुक्रा जग्गा बगायो । ओत लाग्ने ठाउँ केही छैन ।’

निमप्रकाश मात्र होइन, उनी जस्तै भुजीखोला वरपरको २२ घरपरिवारका कसैले बाबुआमा त कसैले सन्तान र आफन्त गुमाएका छन् । कसैले सोचेकै थिएनन्, आफ्नै लाग्ने भुजीखोलाले एक दिन आफन्त, छिमेकी, परिवार तथा सन्तानलाई बगाएर ज्यान लिने छ । बाढी पीडित सबैको उठीबास भएको छ । बाढीले घर बगाएपछि बाँचेका आफन्तको घरमा आश्रय लिइरहेका छन् ।

भएको खाद्यान्न बाढीले बगाइदिए पछि पीडित अहिले नगरपालिका तथा केही संघसंस्थाले दिएको चाउचाउ भुजा लागयतका खाद्यन्न खाएर बसेको पीडित सुनीमाया पुनले बताइन् । ‘हप्ता दिनदेखि राम्रोसंग निन्द्रा परेको छैन,’ उनले भनिन्, ‘परिवार गुमाएको पीडा छ, बस्ने ओत छैन, आफन्त कहाँ जसोतसो गरी बस्दै आएका छौं । सरकारले बस्ने घर बनाइदिन्छ की भन्ने आशा छ ।’

यसैबीच बाढी पीडितलाई मलम लगाउन प्रवास रहेका नेपालीहरुले सक्रियता देखाएको छ । मगर संघ हङकङले बाढी पीडितलाई २ लाख ५० हजार आर्थिक सहयोग गरेको उपाध्यक्ष समुन थापामगरले बताए । विपदको पीडालाई केही हदसम्म न्युनीकरण गर्न सहयोग गरिएको उनको भनाई थियो । ‘एउटा नेपालीलाई परेको दुखमा अर्को नेपालीले सहयोग गर्नुपर्छ ।’ उनले भने, ‘तपाईंहरुले आफ्नो आफन्त गुमाएपछि एउटा नेपाली भएको नाताले मैले पनि आफन्त गुमाएको छु, त्यसैले सानै होस् सहयोग गरेको हुँ ।’

संकलन गरेको राहत रकम पारदर्शिता होस् भनेर प्रत्यक्ष पीडित कहाँ गएर राहत रकम विरतण गरेको हो । नेपालीका दुःखमा साथ दिनका लागि मगर संघ हङकङको नेतृत्वमा राहत रकम संकलन गरेकी अध्यक्ष युकमाया रानाले बर्खायाम सुरु भएदेखि यो वर्ष नेपालमा ठूलो प्राकृतिक विपद् परेको बताइन् । ‘देशका विभिन्न ठाउँमा बाढीपहिरोले जनधनको क्षति पु¥याएको छ ।’ उनले भनिन्, ‘यो पीडा हामीलाई सह्य भएन । हामीले हङकङमा बसोबास गर्ने मगर समुदाय लगायत नेपालीहरुमा सहयोगको अपिल ग¥यौं । उहाँहरुको सहयोगले नै आज देशको पीडामा केही सहयोग गर्न सकेका छौं ।’ उनले गाँस, बाँस र कपासको व्यवस्थासंगै स्वास्थ्य चौकी र विद्यालय लगायातका संरचना पुन निर्माण गर्न सरकारसंग माग समेत गरिन् ।

मगर संघ युकेका निर्वतमान उपाध्यक्ष एवं स्वीडेन शाखाका सल्लाहकार अनिता रानामगरले देशको पीडामा प्रवासी नेपाली सधै चिन्तित हुने गरेको बताइन् । ‘नेपाललाई सधैं विभिन्न प्राकृतिक प्रकोपसंग जुध्नुपर्ने बाध्यता छ । प्राकृतिक विपदसंग समस्या भइसकेपछि राहत भन्दा सरकारले बेलैमा सुरक्षा नीति अवलम्बन गरे जनधनको क्षतिबाट बाँच्न सकिन्छ ।’ उनले भनिन् ।

राहत प्रदान गर्दै मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले बाढी पीडितको मलम लगाउन मगर संघ अन्तरर्गत रहेका सबै क्षेत्रलाई राहत संकलन गर्न परिचालन गरेको बताए । साथै उनले बाढी पीडित व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारसंग अनुरोध गरेका छन् ।

संविधान सभा सदस्य निरज पुन मगरले बाढी पीडितलाई राहतलाई वितरणलाई पारदर्शिता गर्नपर्नेमा जोड दिए । बाढीपीडितको बिचल्ली भएकाले पुर्नवासको व्यवस्था गरिदिन तीनै तहका सरकारसंग माग गरे । बाढीले भत्काएका विद्यालय भवन, स्वास्थ्य चौकी, खानेपानी लगायतका अत्यावश्यक भौतिक संरचना बनाउन समेत उनले सरकारसंग अनुरोध गरेका छन् ।

मगर संघ हङकङले ढोरपाटनसंगै, म्याग्दी, कैलाली, तनहुँ लगायत देशका विभिन्न जिल्लामा बाढीपहिरो पीडितलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने महासचिव नन्दबहादुर रानामगरले जानकारी दिएका छन् ।

मगर संघ हङकङले जस्तै यहाँका बाढीपीडितलाई बाग्लुङ सेवा समाज क्यानडा ३ लाख, मगर संघ युके स्वीडेन शाखा, नेपलिस् वेलफेयर लगायतका प्रवास रहेका नेपालीले राहत रकम प्रदान गरेका हुन् । नेपाल मगर संघ केन्द्रीय समिति, नेपाल मगर संघ बुर्तिवाङ, मगर संघ निसीखोला समिति लगयातका संघसंस्थाले शनिबार एक कार्यक्रमको आयोजना गरेर बाढीपीडितलाई ९ लाख ३३ हजार ५ सय राहत रकम वितरण गरेका थिए ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीका अनुसार वडा नम्बर ९ मा १ सय घर पूर्ण क्षति, वडा नम्बर ८ मा १० घर र वडा नम्बर ७ मा ३ घर गरी झन्डै १ सय २० घर क्षति पुगेको छ । बाढीमा परी ३७ जना बेपत्ता भएकोमा २२ जनाको सनाखत भइसकेको छ । १६ जना अझै बेपत्ता छन् । पीडितलाई पुर्नवासको व्यवस्था गर्न तयारी थालेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

कमेन्टहरु
Loading...