ऋषिकान्त पौडेल
जर्ज जोन । देसमै चिनिएको नाम । पोखरामा सबैले देखेको मान्छे । होचो कद लिएर पोखराको शैक्षिक क्षेत्रमा अग्लो कद बनाएको मान्छे । नामभन्दा बढी कामले चिनिएको मान्छे ।
साेमबार बिहानै चेन्नइबाट छाेरी र सिंगापुरबाट छाेराले फाेनबाट जन्मदिनकाे शुभकामना दिए । जाेन सरले ८८ वर्ष पुरा गरी ८९ मा टेके । त्यसपछि पाेखरेलीहरूले सम्झिए । अनि, पुराना विद्यार्थीहरूले फाेन गरे ।
यहाँ शैक्षिक क्षेत्रलाई खुड्किलो बनाएर व्यक्तिगत स्वार्थ पुरा गर्न खोज्नेहरुको संख्या नेपालमा लस्करै भेटिन्न्छ । तर एक विदेशी व्यक्ति, जो विगत ६ दशकदेखि पोखराको शैक्षिक अवस्थालाई शिखरमा पु¥याउने क्रममा आफ्नो मुलुक सम्झन भ्याएनन् ।
१९ वर्षको उमेरमा नेपाल घुम्न आएका भारतीय नागरिक जर्ज जोनले नेपालमै आफ्नो जीवन बित्छ भन्ने चिताएका थिएनन् । तर पोखरामा औलाले गन्ने अवस्थाका शैक्षिक व्यक्तित्वको माया र संगतले जन्मस्थान भारतको केरला फर्किने मनै भएन ।
दुईवटा हाईस्कुलमात्रै रहेको पोखरामा जर्ज जोनले पहिलोपटक पृथ्वीनारायण क्याम्पसमा ज्ञान हैन पसिना पोखे । क्याम्पसमा आज देखिने विशाल संरचनामा भारतीय ठिटोले गरेको योगदानलाई नसम्झे उनीमाथि अन्याय हुन्छ ।
तत्कालिन अवस्थामा चित्राले बेरेको र खरले छाएको पानी चुहिने छाप्रोमा बसेर ६ जना विद्यार्थीलाई पढाएको स्मरण गर्ने जर्ज जोन सरलाई त्यसबेला आफ्नो जन्मभूमिभन्दा शैक्षिक विकासमा बसेको लगाव प्यारो भएको थियो ।
२००९ सालमा नेपाल भित्रिएका जर्ज जोन २०१७ सालमामात्रै पोखरा आइपुगेका थिए । पृथ्वीनारायण क्याम्पसमा जम्मा ३ सय ५० रुपैयाँमा तलबसहितको प्रिन्सिपल पदमा नियुक्ति लिएपनि उन क्याम्पस स्थापनार्थ ज्यामी र पालेसम्मको भूमिका निभाए । उनैको विवेक र पसिनाले हाल क्याम्पसमा करीब १५ हजार विद्यार्थीको ज्ञान आर्जन गर्ने थलो बनेको छ ।
शिक्षासेवीकारुपमा पोखराको बुद्धचोकमा श्रीमतीकासाथ जीवन बिताइरहेका जोन सर शैक्षिक विकासका खातिर अझैपनि सक्रिय हुन रुचाउँछन् । तर शिक्षा जस्तो पवित्र क्षेत्रमा आजभोली मौलाउँदै गएको राजनीतिक क्रियाकलापबाट असन्तुष्ट छन् ।
पृथ्वीनारायण क्याम्पसलाई आफ्नो मुख्य कर्मथलो बनाएका जोन सर यस क्याम्पसलाई पहिल्यै विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता भएपनि राजनीतिक खिचातानीले असम्भव भएको तर्क राख्छन् ।
परिवार र आफन्तलेसमेत देश फर्कन गरेको आग्रहका बावजुद भारतीय नागरिकता नै त्यागेर नेपालकै सेवामा लागेको ६० वर्ष व्यतित भइसकेको छ । नेपालमा पनि शिक्षा क्षेत्रको विकासमा अहोरात्र खटिएवापत गोरखा दक्षिण बाहुसहित विभिन्न सम्मानले विभुषित भइसकेका छन् ।
‘पोखरेली र पुराना विद्यार्थीहरुको मायाले अझै बढी बाँचिन्छ भन्ने लागेको छ’, जोन सरले सुनाए । कुनैबेला पत्रकारितामासमेत शौख राख्ने र पत्रकारको अनुभवसमेत बटुलेका जोन सरले यहाँको शैक्षिक क्षेत्रको उन्नती देख्नु नै जीवनको लक्ष्य रहेको बताए । उनै जोन सरलाई जन्मदिनको हार्दिक शुभकामना ।