पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ

पर्वत । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९ सय ४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकामा १ सय १७, फलेवास नगरपालिकामा १ सय १५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा १ सय १० र पैयुँ गाउँपालिकामा १ सय १० जनाको स्वाब सङ्कलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको हो ।

समुदायमा पुगेर स्वाब सङ्कलन गरिएका ९ सय ४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए ।उनका अनुसार पर्वत अहिलेसम्मलाई सुरक्षित देखिएको छ । समुदायमा बाहेक कन्ट्याक्ट टे«ेसिङमा परेका २ सय ४० जनाको पनि नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पर्वतमा गत चैत ११ गतेपछि भारतबाट एक हजार १ सय १३ र भारतबाहेक तेस्रो मुलुकबाट ३ सय ६१ व्यक्ति जिल्ला भित्रिएका छन् । उनीहरुसहित हालसम्म पर्वतमा दुई हजार १ सय ४० पुरुष र ३ सय ७८ महिला गरी दुई हजार ५ सय १८ जनाको पिसीआर परीक्षण गरिएको छ ।

पर्वतमा हालसम्म विदेशबाट फर्किएका र कन्ट्याक्ट टे«सिङका गरी जम्मा १ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १ सय ३ उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अहिले छ सङ्क्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार ती सङ्क्रमितको भोलि सोमबार स्वाब सङ्कलन गरी पुनः परीक्षणका लागि पठाइने छ । उनीहरुमा कुनै लक्षण देखिएको छैन ।

पर्वतमा समुदायमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर निषेधाज्ञालाई कडा पारिएको छ । पछिल्लो एक सातादेखि सार्वजनिक सवारीका साधनहरु पूर्णरूपमा बन्द गरिएको छ भने जिल्ला भित्रिने सबै नाकाहरुमा सवारी जाँचमा कडाइ गरिएको छ ।

सदरमुकाम र पालिकास्तरमा समेत जनचेतनाका कार्यक्रमलाई प्रहरी र स्थानीय तहका कर्मचारीले निरन्तर प्रभावकारी बनाइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।
रासस

कमेन्टहरु
Loading...