बाग्लुङको बाढीमा परेका १० जनाको शव भेटियो, ४१ जना अझै बेपत्ता

बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बेपत्ताको संख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिएका छन् ।

बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ । ‘हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ ।’ उनले भने । घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनामा हालसम्म ४ जना घाइते भएको प्रहरीको भनाइ छ ।

अरिवरल वर्षासंगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन नगरपालिका ४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरिता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन रहेका छन् । रासस

कमेन्टहरु
Loading...