भोज आयोजना गर्ने नै सङ्क्रमित : ७० जनाको स्वाब सङ्कलन

बागलुङ । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का गरिएको छ ।

कोरोना जोखिमको समयमा छोरी जन्मँदा गरिने न्वारनमा ठूलो जमघट गरी भोज गरिएको पाइएको छ ।  लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

उनले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए । भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइयो ।

छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका सेनामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिए ।

नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब सङ्कलन गरेको छ । सङ्क्रमितका परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ ।

स्वाब सङ्कलन गरिएका ७० मध्ये न्वारान गरिएकी २२ दिनको छोरीसमेत परेकी छिन् । समुदायका मानिसमा कोरोना सचेतना नअपनाउँदा बागलुङ नगरपालिकाभित्र तीव्रगतिमा कोरोना फैलिएको छ ।

नगरभित्रको समुदायस्तरमा एक दर्जन व्यक्तिलाई कोरोना पुष्टि भइसकेको छ । नगरपालिकाभर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी छ ।
रासस

कमेन्टहरु
Loading...