पोखराको पालिखेचोकबाट गिरिजाचोक र नदिपुरको मनिपाल जाने चोक सम्म ‘वान वे’

पोखरा २१ पुस/साघुरो सडक र धेरै सवारीका कारण अत्याधिक सवारी जाम हुने पोखराको पालिखेचोकको सडक बिहीबार देखि एक तर्फी बनाइएको छ । सवारी ब्यवस्थापन सहज बनाउन पालिखेचोक भएर चल्ने सडकको केहि खण्डलाई वान वे बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

पालिखेचोकमा महेन्द्रपुल, गैह्रापाटन, तेर्सापट्टी र नदिपुर चारै तिरबाट आउजाउ हुने सवारीका कारण अत्याधिक हुने गरे पछि वान वे बनाएर भएपनि सवारी चाप कम गर्न खोजिएको उनको भनाई छ । स्थानीयको सहमति र पोखरा उपमहानगरपालिकाको समेत सहयोगमा पालिखेचोक भएर सञ्चालन हुने सवारीलाई एकतर्फी रुपमा सञ्चालन सुरु गरिएको अधिकारीले बताए ।

अब नालाको मुखबाट सिधै पालिखेचोक आउन पाइने छैन भने पालिखेचोकबाट नदिपुर, मनिपाल र बगर तर्फ जाने सवारी यसअघिको जस्तो पालिखेचाक भएर जाने पाइने छैन । पालिखेचोकबाट नालाकोमुख तर्फको सडक खण्ड अन्तर्गत गिरिजाचोकसम्म एक तर्फी जाने र नदिपुरको मनिपाल जाने चोकबाट थकालीसेवा समिति तर्फको सडक हुदै पालिखेचोक तर्फ एक तर्फी आउन मात्रै पाइनेछ ।

तेर्सापट्टी स्थित गिरिजाचोकलाई फराकिलो बनाएर सोहि चोकबाट तल पालिखेचोक तर्फ आउने सवारीलाई नदिपुर जाने चोक तर्फको सडक मार्फत घुमाउने ब्यवस्था मिलाइएको छ । जस अनुसार अब नालाकोमुखबाट सिधै पालिखेचोक आउन पाइने छैन । नालाकोमुखबाट गिरिजाचोक पुगेपछि मनिपाल जाने चोक पुगेर मात्रै पालिखेचोक तर्फ आउनुपर्नेछ ।

त्यस्तै महेन्द्रपुलबाट पालिखेचोक क्रस भएर थकाली सेवा समिति तर्फको बाटो हुदै मनिपाल, बगर जाने सवारी अब सिधै जान पाउने छैनन् । महेन्द्रपुलबाट पालिखेचोक हुदै नालाकोमुख तर्फको बाटो गिरिजाचोक पुगेपछि मात्रै मनिपाल जाने चोकतर्फ मोडिन पाइनेछ । त्यस्तै थकाली सेवा समितितर्फबाट आउने सवारी पहिलेको जस्तो सिधै गैह्रपाटन तर्फ जान पाउने छैनन् । पालिखेचोकको तल्लो भागबाट मोडिएर मात्रै पुन गैह्रपाटन जानपाउने छन् । तर गैह्रपाटन तर्फबाट पालिखेचोक हुदै महेन्द्रपुल तर्फ जाने सवारी भने पहिलेको जस्तै मोडिन पाउनेछन् ।

सवारी ब्यवस्थापनका लागि अहिले पालिखेचोकबाट गिरिजाचोक सम्म र मनिपालजाने चोकबाट पालिखेचोक सम्मको सडम एक तर्फी गरिएकाले सोहि अनुसार सवारी सञ्चालन हुने अधिकारीले बताए । सवारी संख्यामा बृद्धि भएसँगै पछिल्लो समय पोखरामा जामको समस्या बढ्दै गएकाले पनि ब्यवस्थापनको लागि विभिन्न विकल्प खोज्न थालिएको हो । सवारी जामको समस्या निम्त्याउने पृथ्बीचोक स्थित आइल्याण्ड सानो गर्ने बारे पनि पहल भैरहेको छ । त्यस्तै पोखराका अन्य साघुरा सडकलाई पनि एक तर्फी बनाएर सहज आवतजावतको ब्यवस्था मिलाउने तयारी भैरहेको ट्राफिक प्रहरी निरिक्षक अधिकारीले बताए ।

सवारी ब्यवस्थापनका लागि सडकका सबै भागमा ट्राफिक प्रहरी पुग्न नसक्ने भएकाले चालक र अन्य नागरिक पनि आफै जागरुक हुनुपर्नेमा उनले जोड दिए । अहिले पृथ्वीचोकमा मात्रै ६ जना ट्राफिक प्रहरी खटिनुपर्ने अबस्था छ । २८ जनाको दरवन्दी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा हाल ६३ जना कार्यरत छन् । तैपनि ट्राफिक जनशक्ति कम भएको छ ।

कमेन्टहरु
Loading...