उपभोक्ता ठगी गर्ने ५ व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने ५ व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ ।

नापतौल कार्यालयले चालु आवमा काठमाडौंका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको हो । अदालतमा मुद्दा दायर हुनेमा गोरखकाली ग्याँस सेन्टर, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर, एम लाल स्टोर्स महाराजगञ्ज र गोरखकाली हार्डवेयर लोलाङ रहेका छन् ।

मातारानी ट्रेडिङ प्रालिले चामलमा व्यापक मात्रामा ठगी गरेको पाइएको छ । रिपुराज एग्रो प्रालि भारतमा उत्पादित महाशक्ति ब्राण्डको चामलले २५ किलोको बोरामा २१ किलो राखेर बिक्री वितरण गर्दै आएको अनुगमनका क्रममा भेटिएको कार्यालयका प्रमुख मनिषकुमार दासले जानकारी दिएका छन् । ‘अनुगमनका क्रममा एउटै बोरामा चार किलोसम्म कमी पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेका हौं । उनले भने । मातारानी ट्रेडिङ प्रालिले भारतीय उद्योगमा उत्पादित चामलको बोरामा स्थानीय (लोकल) चामलसमेत हालेर बिक्री वितरण गर्दै आएको नापतौल कार्यालयले जनाएको छ ।

यस्तै न्यू टीका डेरी सेन्टरले दूधको पोकामा घटी मात्रामा राखेर बिक्री वितरण गरेको भेटिएको छ । कार्यालयले गरेको अनुगमनका क्रममा एक लिटर दूधको पोकामा ५० मिलिलिटर तथा आधा लिटर दूधको पोकामा ३० मिलिलिटर कमी भेटिएको छ । गोरखकाली ग्याँस सेन्टर, एम लाल स्टोर्स र गोरखकाली हार्डवेयरले अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेकाले कारबाहीका लागि मुद्दा दायर गरेको हो ।

कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालु आवमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेबापत २ हजार ७ सय ८ व्यवसायीलाई कारबाही गरेको जानकारी दिएका छन् ।

यस्तै चालु आवमा ४ सय २४ व्यापारीले नाप्ने तौलने यन्त्रको इजाजतपत्र नवीकरण गर्नुका साथै १ हजार ५ सय ५० व्यापारीले नाप्ने तौलने यन्त्रको जाँच गरेका छन् । कार्यालयले ३ सय ७९ पेट्रोल पम्प जाँच गर्नुका साथै २ हजार ५ सय ७ ट्याक्सीको मिटर जाँच गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकमा ५२ लाख २० हजार ५ सय ७९ राजश्व संकलन गरेको छ । रासस

कमेन्टहरु
Loading...