झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले बिहीबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर–१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी र सोही वडाको पानबस्तीका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।
प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मेचीनगर–१५ हेल्दुबारीमा बा३८प ३८८५ नंको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर, नगद ८१ हजार १ सय, भारतीय रुपैयाँ १ सय १० र २ थान मोबाइल बरामद गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।
श्रीमती हत्याका अभियुक्त कारागार चलान
श्रीमती हत्याको अभियोगमा पक्राउ परेका १ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका–१ का ६४ वर्षीय भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको प्रवक्ता थापाले जानकारी दिएका छन् ।
गत असोज १२ गते भण्डारीकी ६५ वर्षीया मनमाया भण्डारी आफ्नै घरमा मृतावस्थामा फेला परेकी थिइन् । घटनास्थलको अनुसन्धान, घरपरिवार, स्थानीयवासी, छरछिमेकका व्यक्तिसँग गरिएको कुराकानी र शव परीक्षणको रिपोर्टमा उल्लेख भएको मृत्युको समयमा मृतक मनमायाका श्रीमान भीमबहादुर घरमै रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको थियो ।
अदालतबाट असोज १६ गते म्याद थप गरी थप अनुसन्धान भइरहेकामा बिहीबार झापा अदालतको आदेशले भण्डारीलाई पुर्पक्षका लागि जिल्ला कारागार चन्द्रगढी चलान गरेको हो । रासस