गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताएका छन्। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको समुद्घाटन गर्दै भट्टले रक्तदान कार्यक्रम मानवीय धर्म र सामाजिक कर्म जोडिएको पवित्र कार्य रहेको बताएका हुन्।
‘स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण मानवीय र सामाजिक सेवा हो । यस्ता कार्यक्रमले युवा पुस्तामा मानव सेवा र रक्तदानको महत्वको बारेमा जागरुकता फैलाउन पनि उत्तिकै मद्धत गर्दछ ।’ उनले भने ।
संस्थाका अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणिज्यूको १८ औं पुण्य स्मृति तथा विश्व भातृत्व दिवसको अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्रायः सबै स्थानीय सेवाकेन्द्रहरूले भदौ ६ देखि ९ गतेसम्म अन्तर्राष्ट्रिय रक्तदान शिविर आयोजना गरेको छ ।
संस्थाले मानवीय सेवा, एकता र करुणाको भावनालाई बढावा दिन यस्ता प्रकृतिको कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गर्दै यस कार्यलाई पवित्र र समाजसेवामूलक कार्यका रुपमा आफूले लिएको बताए।
केन्द्रमा अध्यात्मिक चर्चा र ध्यान कार्यक्रमको आयोजना निरन्तर हुने हुँदा सबैको सुख, समृद्धि र शान्ति प्राप्तिका साथ जनजीवन मधुर र समृद्ध बन्न सहयोग पुग्ने अपेक्षा पनि उनले राखे।
‘आजको समयमा मानिसहरूले आफूलाई आत्मा सम्झन छाडेका छन् । जसले गर्दा अधर्म, विकार र अज्ञान फैलिएको छ। नयाँ सत्ययुगी सुखमय संसारको स्थापनाको खाँचो छ ।’ उनले भने – ‘सबै धर्म र संस्कृतिसँग सम्बन्धित मानिसहरूलाई आफ्नो अन्तरात्मालाई चिन्न, अनुभूति गर्न र राजयोग अभ्यास मार्फत् जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्नेछ भन्नेमा आशावादी छु ।’